काशीराम घिमिरे, अर्घाखाँची-
द्वापरयुगको अन्त्यतिर, कृष्ण जन्माष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको स्मरणमा आजको दिन यो पर्व मनाइन्छ। बाल्यकालदेखि नै चञ्चल स्वभावका उनी गोबिन्द, काले कृष्ण, मुरारे, दही चोर जस्ता नामले परिचित थिए। दही उनका प्रिय भोजनमध्येको थियो, र मुरली उनको प्रिय वाद्य। कथाअनुसार, मुरलीको मधुर धुनमा मोहित हुने सोह्र सय गोपिनीहरू पनि थिए। उनी ज्ञान, कर्मयोग र भक्तियोगका प्रेरणास्रोत मानिन्छन्।
श्रीकृष्णको जन्म अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिको अन्त्य गर्दै मानव जातिको रक्षा गर्नका लागि भएको मानिन्छ। धर्मशास्त्रअनुसार, उनी आमा देवकी र मामा कंशका दाजु–बहिनीको कोखबाट जन्मिएका हुन्। कंशले भविष्यवाणीअनुसार आठौं सन्तानले आफूलाई मार्ने थाहा पाएपछि देवकीका सात सन्तानहरू मारे। कृष्णको जन्म रातमा सैनिकहरू गहिरो निद्रामा थिए, कारागारका ढोका आफैं खुले, र बासुदेवले आकाशवाणीको आदेशअनुसार शिशु कृष्णलाई बृन्दावनस्थित नन्दको घरमा पुर्याए। यसोदाको कोखबाट जन्मेकी बालिका देवकीकहाँ ल्याइयो। कंशले ती बालिकालाई मार्न खोज्दा उनी आकाशमा उडेर भविष्यवाणी सुनाइन् “हे पापी कंश, तिमीलाई मार्ने व्यक्ति जन्मिसकेको छ र सुरक्षित छ।”
भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मिएका कृष्णले जीवनभर सत्य, न्याय र सत्कर्मको पक्ष लिए। कौरव–पाण्डव युद्धमा अर्जुनलाई दिएको उनको उपदेश नै श्रीमद्भागवत गीता हो, जसलाई हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ। उनले भनेका मुख्य सन्देशहरूमा “हे अर्जुन, युद्धको चिन्ता नगर, कर्म गर, तर फलको आशा नगर” समावेश छ।
शास्त्रमा उल्लिखित छ, “जब जब पृथ्वीमा धर्मको ह्रास र पापको वृद्धि हुन्छ, तब तब म मानव रूप धारण गरी धर्मको रक्षा र अधर्मको अन्त्य गर्न जन्म लिन्छु।” यही कारण, कंशको अन्याय सहन नसकी कृष्णले युद्ध गर्दै उनलाई वध गरे र बुवाआमा तथा हजुरबुबालाई मुक्त गराए।
उनका जीवनका सन्देशहरू स्पष्ट छन्- त्यमा अडिग रहनु, सत्कर्म गर्नु, अन्याय नगर्नु र अरूको भलो चाहनु। हरेक काम निस्वार्थभावले, धर्म र न्यायको मार्गमा गरिनुपर्छ।
यसैले, श्रीकृष्ण जन्माष्टमी केवल एक धार्मिक पर्व मात्र नभई सत्य, न्याय, सत्कर्म र शान्तिको स्मरण दिवस पनि हो। जीवनमा हरेक मानिसले कृष्णका सन्देश आत्मसात् गर्दै सत्कर्म र सत्यकाममा लाग्नु नै उत्तम कार्य हो।