अर्घाखाँची ।
गत कार्तिक २० गते जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालय गेट अगाडी नाराबाजी गर्दै अराजक गतिविधि गरेको आरोपमा चार युवा पक्राउ परेका छन् ।
प्रमुख जिल्ला अधिकारीको कार्यकक्षको टेबल र ढोका हानी शान्ति खलबल विरुद्ध गतिविधि गरेको आरोपमा दुई महिना १० दिनपछि प्रहरीले चार जना युवालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भूमिकास्थान नगरपालिका–६ का प्रकाश बेल्वासे, डासिराम श्रेष्ठ, मदन श्रेष्ठ र रविन परियार रहेका छन् ।
गत कार्तिक १९ गते भूमिकास्थान नगरपालिका– ५ र ६ को सीमाना खिल्जीको उदयठाँटीमा देउसीभैलो खेलिरहेका कलाकार माथि ना ३ ख २४७१ नम्बरको अनियन्त्रित भएको बसले किच्दा ७२ वर्षीय रुनी खनाल र २२ वर्षीय तारा श्रेष्ठको जनाको घटनास्थलमै मृत्यु भएको थियो । ३७ घाइते भएका थिए भने अरु भागेर ज्यान बचाएका थिए । दुर्घटनापछि बसका चालक हाम फालेर भागेका थिए ।
प्रहरीले घटनाको वास्तविक अनुसन्धान नगरेको र चालकको खोजीकार्यमा चासो नदेखाएको भन्दै कार्तिक २० गते बेल्वासे र भूमिकास्थान नगरपालिका प्रमुख झविलाल थापा सहितका स्थानीयले प्रहरी र जिल्ला प्रशासन कार्यालय गेट अगाडी विरोध प्रदर्शन गर्दै नाराबाजी गरेका थिए । त्यसपछि घटनाको उनीहरुले डेलिकेशन लिएर प्रमुख जिल्ला अधिकारी बावुराम अर्यालयको कार्यकक्षमा समेत चर्काे विरोध गर्दै न्याय दिन माग गरेका थिए । घटनाको सत्यतथ्य खोजीकार्यमा प्रहरीले चासो नदेखाएको आरोपमा वडा ५ र ६ सहित भुमिकास्थानका ठूलो संख्यामा स्थानीयले विरोध गरेका थिए । विरोध प्रदर्शन भएको दुई महिना १० दिनमा सोमबार चार जनालाई प्रहरीले पक्राउ गरको हो ।
प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले त्यति बेलाको विरोध प्रदर्शनमा प्रकाश बेल्वासे सहितका केही मान्छेहरुले कुनै उद्देश्य विना अराजक व्यवहार प्रदर्शन हुने काम गरेर शान्ति सुरक्षामा बाधा पुयाएकाले नियन्त्रणमा लिइएको बताएका छन् । आन्दोलनमा उत्रिएका मध्ये उनीहरुले प्रशासन कार्यालयको ढोका हानेको छ, प्रहरी कार्यालयको गेटमा विरोध गरेर शान्ति सुरक्षामा बाधा पुयाएको र प्रमुख जिल्ला अधिकारीको कायकक्षमा टेबल हानेर अराजक गतिविधि गरेकोले, आफ्नो भनाइ सभ्य भएर राख्न सकिने तर तरिका फरक भएको उनले बताए ।
थप अनुसन्धानको लागि नियन्त्रणमा लिइएको र उनीहरुलाई शान्ति खलबल विरुद्धको कारबाही हुने प्र.ना.उ मल्लले बताए ।
प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा युवाले अराजक गतिविधि गरेको भनेपनि प्रमुख जिल्ला अधिकारी बावुराम अर्यालले घटनाको बारेमा आफुले केही पनि भन्न नमिल्ले जानकारी दिए । त्यो बेलामा आन्दोलनमा प्रत्यक्ष संलग्न भएर अपराध गरेको देखिने अन्य केही व्यक्तिलाई पनि पक्राउ गर्ने तयारी भएको उनले बताए ।
भुमिकास्थान नगर प्रमुख झविलाल थापाले त्यतिबेला घटनामा सत्यतथ्य छानबिनमा ढिलासुस्ती भएको, धेरै घाइते भएको र भागेर ज्यान बचाएकाहरू सहित सिंगाे नगरपालिकाका स्थानीयले न्यायका लागि गरेको आन्दाेलनलाई अराजक र शान्ति विरोधी भन्नू गलत रहेको बताए ।
अराजक गतिविधिकाे आराेपमा घटनाको लामाे समयपछि पक्राउ गर्नु न्याय दिने प्रहरी प्रशासनले स्थानीय माथि अन्याय गरेको उनलेे बताए ।
स्थानीयले भने, न्याय माग्न गएकालाई प्रहरी प्रशासनले गलत ब्याख्या गरेको बताएका छन् ।