अर्घाखाँची – एकीकृत समाजवादी अर्घाखाँचीका अध्यक्ष रामबहादुर चौहानले नौमुरे आयोजना र खानेपानी कार्यालय खारेज गरेर सरकारले अर्घाखाँचीमाथि योजनाबद्ध प्रहारगरेको बताएका छन् ।
अर्घाखाँची जिल्लामा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बुटवल सारिएको तातो घाउ अझ पुरै निको नहुँदै, अब नौमुरे बहुउद्देश्यीय आयोजना को अर्घाखाँचीस्थित कार्यालयसमेत खारेज गरी उर्जा मन्त्रालय, काठमाडौंमा पुर्याइएकोमा सरकारले गरेको निर्णयप्रति जिल्लाभर आक्रोश बढ्दै गएको छ ।
एकीकृत समाजवादी अर्घाखाँचीका अध्यक्ष चौहानले पटकपटक विरोध गरेका हुन् । यो निर्णय लाई “जिल्लाको अस्तित्व समाप्त पार्ने योजनाबद्ध प्रहार” भएको भन्दै सामाजिक सञ्जालमार्फत कडा शब्दमा विरोध जनाएका छन्। गत आर्थिक वर्ष २०८१/०८२ मा सितगङ्गा नगरपालिका–८ स्थित कार्यालयमार्फत १६ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन भएको आयोजनामा, यस वर्ष २०८२/०८३ का लागि बजेट शून्यमा झारिएको बताए ।
अध्यक्ष चौहानले लेखेका छन्, “काल पल्कियो, छट्टु स्यालले पालैपालो कुखुरा सिध्याएझैँ अब अर्घाखाँचीलाई सिध्याउने कमिसनखोरहरूको षड्यन्त्र सुरु भएको छ।” उनले यो कदमलाई अर्घाखाँचीबासीमाथि गरेको ‘वज्रपात, हेपाइ र अपमान’को चरम सीमा बताएका छन्।
उनले व्यक्तिगत र दलगत स्वार्थभन्दा माथि उठेर जिल्लाको माटो र पहिचान जोगाउन आन्दोलन आवश्यकता रहेको बताए । अर्घाखाँचीका सर्वसाधारणलाई एकहुन आह्वान गरेका छन्। चौहान भने “नरहे बास, नबजे वासुरी जब जिल्लाकै अस्तित्व मेटिन्छ, तब हामी र हाम्रा पार्टीहरूको अस्तित्व पनि सकिन्छ।”
“विकासमाथिको प्रत्यक्ष युद्ध” भन्दै तुरुन्त निर्णय फिर्ता लिन सरकारलाई चेतावनी सहित आग्रह गरेका छन्।
जिल्लामा सक्रिय आठवटा प्रमुख राजनीतिक दलहरूले अर्घाखाँचीस्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयलाई रुपन्देही स्थानान्तरणको विरोध गर्दै ज्ञापनपत्र पनि बुझाएका थिए।

