बुटवल ।
निर्माणाधीन बुटवल–नारायणगढ सडकखण्डको काम तोकिएको समयमा नहुने भएको छ ।
निर्माण सम्झौता अवधि सकिने एक महिनाभन्दा कम समय हुँदा उक्त सडकको ८१ प्रतिशत काम बाँकी छ । ०७९ साउन २२ गतेभित्र बनाइसक्नुपर्ने सम्झौता रहेको बुटवल–नारायणगढ सडकको भौतिक प्रगति १९ प्रतिशत मात्र छ । वित्तीय प्रगति १० प्रतिशत मात्र भएको छ ।
०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलमा शिलान्यास गरेको यो सडकको चाइना स्टेट इन्जिनियर कर्पोरेसन कम्पनीले ४२ महिनामा सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो । उक्त अवधि सकिन २२ दिन मात्र बाँकी छ ।
रूपन्देही, पश्चिम नवलपरासी र नवलपुर जिल्ला हुँदै निर्माण हुने यो सडकको लम्बाइ ११४ किलोमिटर छ ।
निर्माणमा ढिलासुस्ती हुँदा सडकसँग जोडिएका गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु, विनयत्रिवेणी, बर्दघाट, सुनवल, देवदह, बुटवलका दर्जनौँ पालिका, बस्ती र हजारौँ नागरिक प्रभावित भएका छन् । दैनिक हजारौँ यातायातका साधन र यात्री जोखिम व्यहोर्दै घण्टौँसम्म सडकमा बस्न बाध्य छन् ।
यो सडकखण्ड पूर्वपश्चिम राजमार्गको मध्यभागमा पर्छ । सवारीसाधनको चाप हेर्ने हो भने यो सडक एक मिनेट पनि रोक्न नमिल्ने खालको हो । सडकमा दैनिक साना–ठूला गरी १० हजार सवारीसाधन ओहोरदोहोर गर्छन् । तर, वर्षायाममा धेरै ठाउँमा खसेको पहिरो समयमै नहटाइँदा गाडीहरू जाममा पर्ने गरेका छन् ।
निर्माण कम्पनीले सडकको सामान्य मर्मतको काम समेत गर्ने गरेको छैन । वर्षायाम लागेसँगै सडक निर्माणको काम ठप्पजस्तै छ । साढे दुई घण्टामा यात्रा गर्न सकिने सडक पार गर्न अहिले ६–७ घण्टा लाग्ने गर्छ ।
पूर्वपश्चिम राजमार्गको मध्यखण्डमा पर्ने महत्त्वपूर्ण सडक विस्तार आयोजनाको काम कोरोना महामारी, ‘साइट क्लियर’ र रुख कटानमा ढिलाइ हुँदा समयमै हुन नसकेको आयोजनाको दाबी छ । ‘सिक्स’ र ‘फोर’ लेनमा विस्तारसहित सडकको स्तरोन्नति थालिएको थियो ।
०७९ साउन २२ गतेभित्र निर्माण पूरा गर्ने गरी सडक विस्तारको काम थालिएको हो । अहिले निर्माण सम्पन्न गर्ने म्याद एक वर्ष थपिएको छ । बुटवल–दाउन्ने र दाउन्ने–गैँडाकोट गरी दुई खण्डमा विभाजन गरेर सडकको काम थालिएको छ ।
आयोजनाका परामर्शदाता सुशन श्रेष्ठका अनुसार बुटवल–दाउन्ने पश्चिम खण्डअन्तर्गत पर्ने ४८ किलोमिटरको २० प्रतिशत काम सकिएको छ । दाउन्ने–गैँडाकोट खण्ड ६५ किलोमिटर सडकको १८ प्रतिशत भौतिक प्रगति भएको छ । पश्चिम खण्डमा हालसम्म झन्डै ८५ वटा कल्भर्ट निर्माण गरिएका छन् । ५० कल्भर्टका अधिकांश काम सकिएको छ । सडकमा २४० कल्भर्ट निर्माण गर्नुपर्नेछ ।
सडक विस्तारका लागि १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँमा चाइना कर्पोरेसनले ठेक्का पाएको छ ।
एसियाली विकास बैंकको ऋण सहयोगमा बन्ने सडकको अनुमानित लागत १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ छ ।
पूर्व खण्ड दाउन्ने–गैँडाकोटको नौ अर्ब १३ करोड १८ लाख ९५ हजार र पश्चिम खण्ड दाउन्ने–बुटवलको अनुमानित लागत सात अर्ब ८६ करोड ३४ लाख रुपैयाँ छ । कुल लागतमध्ये एसियाली विकास बैंक ९एडीबी०को ८५ प्रतिशत रकम ऋण र बाँकी नेपाल सरकारकै लगानी हुनेछ ।