अर्घाखाँची- अर्घाखाँचीमा भैंसीलाई निर्ममता पूर्वक यातना दिई ओसारपसारमा संलग्न दुई जनालाई पक्राउ परेका छन् ।
मंगलबार राति करिब १:५५ बजे सन्धिखर्क नगरपालिका–२ घोचेखोला क्षेत्रमा गस्तीमा रहेको प्रहरी टोलीले धारापानीतर्फबाट सन्धिखर्क आउँदै गरेको लु १ च ३८२६ नम्बरको सिङ्गल क्याप बोलेरो गाडी रोकी चेकजाँच गर्दा, गाडीको पछाडिको ढालामा ४ वटा सी जातका भैंसीहरू साँघुरो ठाउँमा अटाई नअटाई क्रूर व्यवहारका साथ बुटवलतर्फ लैजाने तयारीमा रहेको फेला परेको हो।
साँघुरो ठाउँ र यातनाका कारण गाडीमा ठोकिएर भैंसीहरू घाइते अवस्थामा भेटिएको जिल्ला प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूमा अर्घाखाँची भूमिकास्थान नगरपालिका–६ का २३ वर्षीय सरोज पौडेल र रोल्पा लुङ्ग्री गाउँपालिका–२ का १८ वर्षीय क्रिस बानिया छन्।
प्रहरीले गाडी, भैंसी र दुबै व्यक्तिलाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिता २०७४ बमोजिम पशुपक्षी सम्बन्धी कसूर मुद्दामा म्याद थप गरी थप अनुसन्धान थालेको सूचना अधिकारी झलक प्रसाद शर्माले जानकारी दिएका छन् ।