पूनम दुवाडी ।
आफ्नो देश आफ्नो जन्मभूमि कसलाई प्यारो हुन्नहोला र ? त्यहि माथि स्वर्गको टुक्राजस्तो सुन्दर देश नेपाल छोडेर प्रदेसिनु पर्दा कसको मन रुन्न होला । आफ्नो देश छोडेर परदेशीनु हरेक नेपालीको रहर होइन बाध्यता हो । विकासको प्रचुर सम्भावना बोकेको भएता पनि स्रोत तथा साधनको कमि, दक्षजनशक्तिको अभावका कारण रोजगारको बाटो खुल्न नसक्दा परदेशी बन्न बाध्य छन ।
अहिलेको वर्तमान परिप्रेक्षमा हेर्ने हो भने हरेक नेपालीको मस्तिष्कमा विदेश नै छ भन्दा फरक नपर्ला । पहिला–पहिला नेपालीहरुको विदेशिनु बाध्यता थियो भने अहिले बाध्यतासंगै रहर पनि जोडिएको छ । आफ्नै देशमा केहि गर्ने चाहना भएता पनि देशको परिस्थिति र महंगाइले गर्दा विदेशिनु नै सजिलो भएको छ । हरेक क्षेत्रमा राजनीतिको बढ्दो प्रभावका कारण पनि देश विकासका कार्यमा अवरोध सिर्जना हुदाँ देशको स्थिति दिनप्रतिदिन खस्किदै गएको छ । यसले गर्दा जनता मारमा परेका छन् ।
आर्थिक मन्दिले गर्दा व्यापार घाटामा गएको छ । हरेक सामानको भाउ बढेको छ । कृषि क्षेत्र तिर पनि उत्पादन त्यस्तै छ । सरकार छ भन्नु मात्र भएको छ, न समयमा विउ दिन सक्छ नत मल नै । कृषि प्रधान देश हाम्रो तर कृषि उत्पादनमा लाजमर्दो स्थिति देखिन्छ । शिक्षा क्षेत्र तिर पनि शैक्षिक गुणस्तर खस्किदै गएको छ । पुराना पाठ्यक्रममा थोरै परिमार्जन गरिएको छ भने समय संगै परिस्थिति बदलिए पनि शिक्षाप्रणाली परम्परागत नै छ । कहिकतै फेरबदल भएता पनि शिक्षामा आधृनिकता आउन सकेको छैन । शिक्षामा आधुनिकता नहुँदा हरेक क्षेत्रमा कतिपयले दुःख खेप्नु परेको छ । विदेशियका कयौंले दुूःख खेप्नु परेको छ ।
७० प्रतिशत युवा भएको देशमा रोजगार नहुँदा दिनप्रतिदिन रोजगारको सिलसिलामा हरेक दिन हजारौंको संख्यामा युवाहरु देशबाट बाहिरिएका छन् । यस्तै गति भइराख्ने हो भने देशमा बुढाबुढि मात्र रहने दिन नआउला भन्न सकिन्न । अहिलेको परिस्थितिमा जति धेरै पढे पनि पढाइ अनुसारको रोजगार नहुँदा पढे नि नपढे बराबर भएको छ । एयरपोर्टमा हेर्न जाने हो भने देश फर्किनेको संख्याभन्दा देश छोडि जानेको संख्या एकदमै अत्याधिक रहेको छ । त्यसैमाथि रोजगारको सिलसलामा विदेशियका युवाहरुको लास हरेक दिन बाकसमा आउँछ । यस्तो दर्दनाक स्थिति देशमा हरेक दिन देखा पर्छ ।
देश बनाउन सरकारमा जाने व्यक्तिहरु नै भ्रष्टचारी हुँदा देशको अवस्था झनझन् बिग्रदै गएको छ । भएका उद्योग, कलकारखाना पनि बन्द हुदै जादाँ बेरोजगारीको संख्यामा वृद्घि हुदै गएको छ । सडक, पुल निर्माणका कार्यहरु पनि अस्तव्यस्त नै रहेको छ । कतै पनि काम सम्पन्न हुन सकेको छैन । देशको यस्तो बिग्रदो स्थिति देख्दा दिक्क लाग्छ । देशमा निर्यात भन्दा आयात धेरै छ । त्यसले गर्दा देश ऋणमा डुबेको छ । हरेक नेपालीको टाउकोमा नेपाल सरकारले ५५÷६० हजारको भार थमाएको छ ।
रेमिट्यान्सले नै देश धानेको अवस्था छ । रेमिट्यान्सको लागि सरकारले युवा जति विदेशमा बेचेको छ तर त्यहि युवालाई भइपरि आइपरेको समस्यामा साथ र सहयोग गर्न सक्दैन । कृषि क्षेत्रमा नै भर परेर बस्ने स्थिति छैन । कृषिमा ६० प्रतिशत कृषक निर्भर भएता पनि कृषि उत्पादन निकै कम छ । उत्पादन भएका खाद्यान्न, तरकारी लगायत विभिन्न वस्तुहरुले पनि राम्रो बजार पाउन सकेको छैन । आयात धेरै हुदाँ देशभित्रको वस्तुले बजार पाउन सकेका छैनन् ।
देशमा नै केहि गर्न खोज्दा ऋण लिनु पर्छ, समयमा नै ऋण पाउन सकिदैन । बैंकले पनि ऋण दिन मान्दैन । चर्को ब्याजमा ऋण लियो लगानी ग¥यो उल्टो डुब्छ । ऋणले चुुरलुम्म डुबे पछि केहि उपाय लाग्दैन अनि जानु पर्छ विदेश ।
सरकार बनाउने जिम्मा लिएर बसेकाहरुले गम्भिर भएर काम गरेको भए सायद आज यस्तो दिन आउनै थिएन । सरकारले शिक्षा, स्वास्थ्य, सडकमा राम्रो लगानी गरिदिने, उद्योग, कलकारखाना खोल्ने र रोजगारको व्यवस्था गर्न सक्ने हो भने रोजगार खोज्दै ज्यानको बाजी लगाएर विदेशिनु पर्दैनथ्यो । सबै आफ्नै देशमा नै रमाएर बस्थे ।