अर्घाखाँची । अस्पताल सन्धिखर्कमा अबदेखि महिलामैत्री स्वास्थ्य सेवामा महत्वपूर्ण थप भएको छ । अस्पतालमा शुक्रबारदेखि प्रसूति तथा स्त्रीरोग विशेषज्ञ सेवा नियमित रूपमा सुरु हुने भएको हो ।
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. सुजन शर्मा र एनेस्थेसिया सुपरभाइजर हिरा जैसीको आगमनसँगै अस्पतालले दैनिक रूपमा विशेषज्ञ सेवा सुरु गरेको अस्पताल प्रमुख डा. जगनाथ तिवारीले जानकारी दिए ।
शुक्रबार बिहानै आयोजित स्वागत कार्यक्रममा अस्पताल विकास समिति अध्यक्ष बलराम मिश्र, अस्पताल प्रमुख डा. तिवारीलगायत अस्पताल परिवारले दुई चिकित्सकलाई औपचारिक स्वागत गरेका थिए ।
अस्पतालमा यो सेवा सुरु भएसँगै अब सन्धिखर्क तथा आसपासका क्षेत्रका महिलाले जटिल स्वास्थ्य समस्या लिएर बाहिर जानुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ । स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने दिशामा अर्घाखाँची अस्पतालको यो कदम महत्वपूर्ण मानिएको स्थानीयले बताएका छन् ।