अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीले प्रशासनसँग बाँदर–बँदेल आतंकको समाधानको माग खोजेको छ ।
अर्घाखाँचीका खेतबारीमा अहिले किसानभन्दा बढी बाँदर र बँदेलको राज देखिन्छ। बाली लगाउने मेहनत किसानको, तर थन्क्याउने बेला वन्यजन्तु आएर सखाप पार्ने क्रम बढेपछि जनजीवन अस्तव्यस्त हुन थालेको छ।
यसैबीच, नेपाली कांग्रेस अर्घाखाँची बाँदर र बँदेलको आतंक नियन्त्रण गर्न प्रशासनसँग कडा मागको लागि अपिल गरेको हो ।
जिल्ला सभापति केशव श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रमुख जिल्ला अधिकारीसँग भेट गर्दै तत्काल राहत र दीर्घकालीन समाधान खोज्न माग राखेको हो।
“जनताको बाली जोगाउनु आजको अत्यावश्यकता हो,” सभापति श्रेष्ठले भने, “सरकार र सम्बन्धित निकाय चुप लागेर बस्न मिल्दैन, अब ठोस कदम चाहिन्छ।”
कांग्रेसले वन्यजन्तु व्यवस्थापनका लागि दीर्घकालीन नीति बनाउनु पर्ने, समुदायसँग सहकार्य गर्दै तत्काल राहत कार्यक्रम ल्याउनुपर्ने माग अघि सारेको छ।
जिल्लाका स्थानीय किसानहरू प्रत्येक वर्ष बाँदर र बँदेलले खेती सखाप पार्दै आएको गुनासो गर्दै आएका छन्।