काठमाडौं ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद पुष्पा भुसाल गौतमले कञ्चनपुर छाउगोठमा कमला दमाईको मृत्यु महिला–महिला बीचकै विभेदले भएको बताएकी छन् ।
सांसद भुसाल सामाजिक सञ्जालमा लेखेकी छन्
“छाउगोठमा कमलाको मृत्यु – महिला–महिला बीचको विभेदको परिणाम हो। घटना एउटै, अभ्यास फरक किन?”
उनको टिप्पणीले लैङ्गिक विभेद, विशेषगरी महिलामाथि महिलाबाटै लादिने परम्परागत अभ्यासहरूको सवाल उठाएको छ। भुसालको भनाइले प्रश्न उठाएको छ कि जब महिनावारी सबै महिलाको साझा अनुभव हो, तब किन केही महिलाले अरू महिलालाई यो ‘अशुद्धता’को नाममा पीडामा राख्छन्?
महिनावारीकै कारण “अशुद्ध” घोषित भइ छाउगोठमा थुनिएकी २८ वर्षीया कमला दमाईको सर्पदंशबाट मृत्यु भएको थियो। यो केवल व्यक्तिगत क्षति होइन, यो महिलामाथि महिलाबाटै थोपरिएको परम्परागत हिंसाको एक भयावह नमूना भएको सांसद पुष्पा भुसाल गौतमको दाबी छ ।
कञ्चनपुर कृष्णपुर नगरपालिका-१ निगालीकी २८ वर्षीय कमला दमाई (आउजी) को सर्पदंशबाट मृत्यु भएको हो। महिनावारी (रजस्वाला) भएका समयमा घरको आँगनमै रहेको गोठमा सुत्न गएका बेला उनलाई बायाँ गालामा शुक्रबार सर्पले डसेको थियो। कमलाका तीन ससाना सन्तान छन्। मृतकका श्रीमान् रोजगारीका लागि भारतमा रहेका छन्। यो पीडादायी घटनाले हजारौंको हृदयलाई गहिरो चोट पुर्याएको छ।