अर्घाखाँची । एकीकृत समाजवादी अर्घाखाँचीका अध्यक्ष रामबहादुर चौहानले संघीयताको मर्म बिर्सेर अर्घाखाँचीलाई पछाडि पार्न नपाइँने भन्दै कडा आवाज उठाएका छन् ।
सामाजिक संजालमा लेख्दै अध्यक्ष चौहानले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै उनले हालै सरकारद्वारा गरिएको एउटा निर्णय तत्काल सच्याउन वा फिर्ता लिन माग गरेका हुन् ।
सन्धिखर्कमा आर्थिक र प्रशासनिक अधिकारसहित रहेको “संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना” श्रावण १ गतेदेखि बुटवल सारिएको विषय सन्धिखर्कमा अब केवल इकाई कार्यालय मात्र रहने निर्णयले चौहान सहित सम्पूर्ण अर्घाखाँचीबासीलाई ‘मर्माहत र स्तब्ध’ बनाएको बताएका छन् ।
प्रधानमन्त्रीलाई लेखिएको औपचारिक निवेदनमा चौहानले भनेका छन्,
“सिंहदरबारको अधिकार जनताको घर-आँगनमा पुर्याउने हो भने यस्तो निर्णय संघीयताको मर्म विपरित ठहरिन्छ। “सिंहदरबार हाम्रो आँगनमै होस्’ “यो निर्णय सच्याइएन भने अर्घाखाँची उठ्नेछ, सडकमा आउनेछ! आन्दोलन हाम्रो रहर होइन, बाध्यता हुनेछ।”
उनले सो निर्णय तत्काल फिर्ता लिन वा सच्याउन सरकारसँग आग्रह गरेका छन्। अन्यथा अर्घाखाँचीबासी बाध्य भएर आन्दोलनमा उत्रिनु पर्ने चेतावनीसमेत दिएका छन्।
यस पत्रको बोधार्थ उनले खानेपानी मन्त्री, लुम्बिनी प्रदेशका मुख्यमन्त्री, प्रमुख जिल्ला अधिकारीलाई समेत अनुरोध गरेका छन् कि उक्त निर्णय मन्त्रीपरिषद्मा फिर्ता लैजान पहल होस्। अर्घाखाँची जिल्लाको आत्मसम्मानमाथि प्रहार भएको भन्दै सरकारी निर्णयको तत्काल खारेजीको माग गरेका हुन् ।