काठमाडौँ, असार २२।
नेपाली काँग्रेसले २०७९ सालमा सम्पन्न स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारलाई असहयोग गर्ने २६ जना नेता तथा कार्यकर्तामाथि कारबाही गरेको छ।
पार्टीको केन्द्रीय अनुशासन समितिको असार ९ देखि १७ गतेसम्म बसेको बैठकले विभिन्न जिल्ला र प्रदेशका २६ जना नेता तथा कार्यकर्तालाई “अब उप्रान्त पार्टी हितविरुद्ध नगर्न” भन्दै सचेत गराउने निर्णय गरेको हो।
समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाका अनुसार, प्राप्त उजुरीहरूको आधारमा कैलालीबाट २, डोल्पाबाट १०, सल्यानबाट ११, दैलेख, खोटाङ र धनुषाबाट एक-एक जनालाई कारबाही गरिएको छ।
उनका अनुसार, अन्य जिल्लाबाट प्राप्त उजुरीहरू भने अझै छानबिनको प्रक्रियामा रहेका छन्।
यसअघि पार्टीले २०७९ को निर्वाचनमा पार्टीका उम्मेदवार वा पार्टीद्वारा समर्थन प्राप्त उम्मेदवारका विरुद्ध उम्मेदवारी दिने, तिनका प्रस्तावक र समर्थक बनेका कार्यकर्तालाई पार्टी विधानअनुसार स्वतः निष्कासन गरेको थियो।
पार्टीले निष्कासनमा परेकाहरूको पुनरावेदन निवेदनसमेत संकलन गरेको छ। तीमध्ये कोशी प्रदेशबाट १७, मधेसबाट २३, बागमतीबाट ४, गण्डकीबाट ३, लुम्बिनीबाट ३६, कर्णालीबाट ४ र सुदूरपश्चिमबाट १ जना गरी कुल ८८ जनाको पुनरावेदन निवेदन परेको पार्टी कार्यालयले जनाएको छ।

