काठमाडौं ।
नेकपा एमालेकी सांसद बिजुला रायमाझीले विकास निर्माणका काममा समानुपातिक सांसदहरूलाई विभेद गरिएको गुनासो गर्दै महिला सांसदहरूको सहभागिता र पहुँचमा बाधा पुगेको बताएकी छन् ।
प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद रायमाझीले महिला, बालबालिका तथा सामाजिक क्षेत्रमा विनियोजित बजेट पर्याप्त नभएको भन्दै त्यसमा वृद्धि गर्न सरकारलाई आग्रह गरिन् । “महिलाका सवालमा बजेट पर्याप्त छैन, सुधारको खाँचो छ,” उनले भनिन् ।
उनले बजेटको तयारीमा समानुपातिक सांसदहरूको सुझावलाई बेवास्ता गरिएको भन्दै अहिलेको संरचनामा विभेद कायमै रहेको टिप्पणी गरिन् ।
रायमाझी लगाएतका सांसदले ६८ वर्ष पुगेका ज्येष्ठ नागरिकको भत्ता ७० वर्ष पुर्याउने प्रस्तावप्रति पनि आपत्ति जनाउँदै यो प्रावधानलाई यथास्थितिमा राख्न माग गरे, उनले भने “६८ वर्षमै भत्ता दिने अहिलेको व्यवस्था राम्रो छ, यसलाई परिवर्तन गर्नु ज्येष्ठ नागरिकप्रति अन्याय हो ।”
छलफलका क्रममा बजेटमा रहेका त्रुटिहरू सच्याइएन भने अर्धविराम र पूर्णविरामसमेत नहटाईकन पारित गर्नु सान्दर्भिक नहुने रायमाझीको भनाइ थियो ।