लक्ष्मी खनाल, अर्घाखाँची ।
सन्धिखर्क नगरपालिका–५ मा महिलालाई लक्षित गरी सञ्चालन गरिएको साबुन, सरफ र हरपिक उत्पादनसम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ।
महिलाको आर्थिक सशक्तीकरण र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा वडा नम्बर ५ का करिब २५ जना महिलाहरूको सक्रिय सहभागिता रहेको थियो। तालिमले सहभागी महिलाहरूलाई घरेलु सामग्रीको उत्पादन, प्रयोग र बजार व्यवस्थापनसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरेको छ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले महिलाको सशक्तिकरणका लागि यस्ता तालिमहरू अत्यन्तै उपयोगी रहेको बताए उनले भने, “सीपमूलक तालिमहरूले रोजगारी सिर्जना गर्ने, स्थानीय स्रोतको सदुपयोग हुने, फोहोरमैला व्यवस्थापनमा सहयोग पुग्ने र आर्थिक रुपमा आत्मनिर्भर बनाउने महत्त्वपूर्ण भूमिका खेल्दछ।”
उक्त तालिम लुम्बिनी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालय, सामाजिक विकास तथा डिभिजन कार्यालय तौलिहवा, कपिलवस्तुको आर्थिक सहयोगमा सम्पन्न भएको हो। तालिमको व्यवस्थापन कपन नेपाल खोज तथा अनुसन्धान प्रतिष्ठानले गरेको थियो भने घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँची र वडा नं ५ कार्यालयको सह-आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो।
सहभागी महिलाहरूले तालिमबाट प्राप्त सीपले आफूहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्। तालिमपश्चात उनीहरूले स्थानीयस्तरमै उत्पादन सुरु गरी आम्दानी बढाउने लक्ष्य लिएको बताएका छन्।