बुटवल। शशीला मोटर्सले बुटवलको तिलोत्तमा–३, ड्राइभर टोलमा निर्माण गरेको लुम्बिनीकै सबैभन्दा ठूलो विद्युतीय सवारी चार्जिङ स्टेशन मंगलबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।
१००० केभीए क्षमताको उक्त स्टेशनमा एकैपटक १४ वटा सवारी साधन चार्ज गर्न सकिनेछ। तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँणले उद्घाटन गरेका सो पूर्वाधारलाई ‘हरित यातायाततर्फको महत्वपूर्ण पाइला’ भन्दै निजी क्षेत्रको पहलको खुलेर प्रशंसा गरे।
शशीला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाका अनुसार इभीको प्रयोग बढ्दो क्रममा भए पनि चार्जिङ संरचनाको कमी महसुस भइरहेकाले यो केन्द्र निर्माण गरिएको हो। “यो केवल व्यवसाय होइन, वातावरणीय उत्तरदायित्व पनि हो,” खतिवडाले भने।
इलेक्ट्रिक बस, कार, भ्यानलगायत सबै प्रकारका इभी चार्ज गर्न मिल्नेगरी बनाइएको यो स्टेशन द्रुत र सुरक्षित सेवा दिन सक्षम रहेको बताइएको छ। कम्पनीले आगामी दिनमा देशका अन्य स्थानहरूमा पनि यस्ता केन्द्र विस्तार गर्ने योजना सार्वजनिक गरेको छ।
पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेलले चार्जिङ स्टेसन र वर्कशपको आवश्यकतालाई जोड दिँदै यो परियोजना निजी र सामूहिक पहलको सफल उदाहरण भएको बताए।
शशीला मोटर्सको यो पहलले विद्युतीय यातायातको भविष्य निर्माणसँगै स्वच्छ र दिगो यातायातको नयाँ सम्भावना देखाएको छ।

