बिरेन्द्र केसी, अर्घाखाँची ।
अर्घाखाँची राणा प्रधानमन्त्री जंगबहादुर राणाको जन्मस्थल सन्धिखर्क नगरपालिका–५ स्थित मथुरामा रहेको ऐतिहासिक लामपाटी दरबारलाई मर्मत र रंगरोगन गरी चिटिक्क पारिएको छ । चर्किएका कोठा, भत्किन लागेको भवन टालटुल पारिएको छ र भुइँमा ढुंगा बिछ्याइएको छ ।
दरबारमा भवनको गारोबाट इँटा खसेर प्वाल परेको ठाउँ तथा दलिन, मसी, थाम, ढोका, झ्याल जस्ता पुराना र कुहिएका संरचना नयाँसाथी फेर्ने काम भएको छ । छानो र भवनलाई रातो रंगले रंगाएर आकर्षक बनाइएको छ ।
अर्घाखाँचीका पर्यटकीय गन्तव्यमध्ये लामपाटी दरबार एक हो । ‘जंगबहादुर जन्मिएको स्थान मथुरा लामपाटी दरबारलाई संरक्षण गरिएको छ,’ सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए, ‘ऐतिहासिक सम्पदालाई पर्यटकीय गन्तव्य बनाइनुपर्छ, अझ व्यापक प्रचारप्रसार आवश्यक छ ।’
जंगबहादुरले प्रधानमन्त्री भएपछि आफू जन्मिएको ठाउँलाई दरबार बनाएका थिए । कलात्मक रूपमा निर्माण गरिएको बीसखुट्टे दरबार नेपालमै नौलो मानिएको छ । राणा शासनकालसम्म दरबारको रेखदेख हुने व्यक्ति नियुक्त गरिए पनि प्रजातन्त्रपछि त्यस्तो व्यवस्था नभएको थियो । पछिल्लो समय स्थानीय र लुम्बिनी प्रदेश सरकारले दरबारको संरक्षण थालेको श्रेष्ठले जानकारी दिए ।
वाङ्लाका स्थानीय तथा जिल्ला विकास समिति (जिविस) का पूर्वप्रमुख पिताम्बर शर्माका अनुसार, जंगबहादुरका पिता बालनरसिंह कुँवर आर्मी अफिसर थिए, जो प्यूठानको बारुदखानामा कार्यरत थिए । वि.सं. १८६० को दशकमा जुम्लाको सिंजा प्रान्तमा गुठीको जग्गा विवाद चर्किएपछि समाधान गर्न उनलाई जुम्ला सरुवा गरिएको थियो । उनी पत्नी गणेशकुमारीसहित जुम्ला गएका थिए । त्यहीँ रहँदा गणेशकुमारी गर्भवती भइन् ।

