तुल्सीराम अधिकारी
काठमाडौं– हाम्रो शितगंगा बहुउद्देश्यीय सहकारी संस्थाले स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिलाई बधाई, सम्मान तथा दिदीबहिनीलाई दरखाने कार्यक्रम काठमाडौमा सम्पन्न गरेको छ ।
अर्घाखाँची शितगंगा नगरपालिकाबाट विभिन्न पेशा, व्यवसाय, रोजगार, अध्ययन, अध्यापनको शिलशिलामा काठमाडौ बस्नेहरु मिलेर सञ्चालन गरेको सहकारी संस्थाले शनिवार स्वयम्भुमा गरेको कार्यक्रममा प्रमुख अतिथि शितगंगा नगरपालिका प्रमुख छविलाल पौडेलले जिल्लाको ५७ प्रतिशत भुगोल ओगटेको दक्षिणखाँचीको केन्द्र ठाडामा इलाका प्रशासन कार्यालय राख्न आफुले पहल गर्ने बताए । भौगोलिक जटिलताले नागरिकता बनाउन सदरमुकाम आउजाउ गर्न टाढा भएकाले जनतालाई सहज सेवा प्रदान गर्न इलाका प्रशासन कार्यालय अति आवश्यक रहेको उनले बताए । पौडेलले नगरपालिकालाई विकास र समृद्धिमा नमुना पालिका बनाउन लागि परेको दावी गरे । जवाफमा गृह मन्त्रालयका सहसचिव डा. भीष्मकुमार भुसालले ठाडामा इलाका प्रशासन राख्न आफुले सक्दो प्रयास गर्ने बताए । कार्यक्रममा सहभागीले शितगंगामा इलाका प्रशासन कार्यालय स्थापना हुनुपर्ने जोडदार माग गरेका थिए ।
नगर उपप्रमुख गिता भाटले जनप्रतिनिधि सबै मिलेरै नगरको विकास गर्ने बताइन । शितगंगा नगरपालिका निवर्तमान प्रमुख सुर्यप्रसाद अधिकारी, नेपाल सरकारका उपसचिव मिना पौडेल बेल्वासे, नगरपालिका प्रवक्ता दामोदर न्यौपाने, सहकारीका सल्लाहकार पदमप्रसाद भट्टराई, नारायणसिंह बेल्वासे लगायतले बोलेका थिए ।
कार्यक्रम सहकारीका अध्यक्ष शालिकराम अधिकारीको अध्यक्षता, सचिव तुल्सीराम अधिकारीको सञ्चालन र शेयर सदस्य सावित्रा बेल्वासेको स्वागतमा सम्पन्न कार्यक्रममा सरकारीका शेयर सदस्य र अन्य व्यक्ति गरेर करिब ४ सय जनाको सहभागिता रहेको थियो ।