काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पतन्जलि जग्गा प्रकरणमा आफू दोषी नभएको बताएका छन् ।
बिहीबार रौतहटमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष नेपालले यो प्रकरणमा आफूले कुनै बदमासी नगरेको बताएका हुन्।
‘कसले के लुपहोला राखे, मलाई त्यसबारे जानकारी भएन। पतन्जलिजस्तो संस्थामा त्यस्तो होला भन्ने मैला कल्पना पनि गरेको थिएन,’ उनले भने,‘मैले कुनै अनुचित काम गरेको छैन। त्यस्तो कामलाई प्रोत्साहन पनि गरेको छैन, यो म चुनौतीका साथ भन्न चाहन्छु।’
नेपालले राष्ट्रका विरूद्धमा हुने कुनै पनि कामको विरोधमा आफू रहने बताए। उनले अख्तियारले दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको अभियोगपत्रमा भनिएअनुसार आफूले कुनै पनि मन्त्रीलाई निर्देशन नदिएको दाबी गरे।
‘त्यहाँ लेखिएअनुसार मैले कुनै मन्त्रीलाई निर्देशन दिएको छैन, त्यसको प्रमाण पेस गरियोस्,’ नेपालले भने,‘मैले आजसम्म कुनै पनि मन्त्रीलाई अनुचित काम गर्न दबाब दिने त टाढाको कुरा भयो, निर्देशन दिएको पनि छैन।’
पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि नेपालको सांसद् पद स्वतः निलम्बन भएको छ।
नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर भएको छ।

