अर्घाखाँची ।
पाणिनि गाउँपालिका-२ पोखराथोकस्थित शिवशक्ति शीत भण्डारमा राखेको सुन्तला कुहिएर नष्ट भएका छन् । जिल्लाको सबैभन्दा धेरै सुन्तला उत्पादन हुने पणेनाको सिम्ले गाउँ र पोखराथोकका कृषकले राखेको ९० मेट्रिक टन मध्ये ६० मेट्रिक टन सुन्तलाका दाना ढुसी लागेर नष्ट भएका छन् ।
अघिल्ला दुई वर्षमा पनि यस्तै कुहिएर नोक्सान भएका थिए । यसवर्ष लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयले गत मंसिरमा विज्ञ प्राविधिक ल्याएर कृषकलाई गाउँमै कोल्डस्टोरमा सुन्तला राख्ने तरिका सिकाएको थियो ।
तालिममा सिके अनुसार स्टोरमा राखेको एक महिना नबित्दै सुन्तला हेर्दा धमाधम कुहिएको सिम्लेस्थित शिवशक्ति मिश्रित कृषक समूहका अध्यक्ष रेवतीप्रसाद पौडेलले बताए । उनले भने, ‘यसवर्ष कृषिका विज्ञसँग तालिम लिएर राख्दा सुरक्षित रहन्छ भन्नेमा हामी ढुक्क थियौं । क्यारेटमा राखेका सुन्तलाका दानामा धमाधम सेतो ढुसी लागेर कुहियो ।’
अघिल्ला दुई वर्षमा केही मात्रामा कुहिए पनि यसपटक एकैसाथ नष्ट भएको हो । यसरी वर्षेनी सुन्तलामा बिग्रदा किसान चिन्तित भएका छन् । ‘विज्ञले जे सिकाए त्यही अनुसार हामीले सेनिटाइज गरेर राख्यौं,’ उनले भने, ‘झनै बर्वाद भयो । स्टोरमा नराखी जे मुल्य छ, त्यसैमा बिक्री गरेको भए आम्दानी हुन्थ्यो । अहिले त दुःख गरेर उत्पादन गरेको सुन्तला यसरी नष्ट हुँदा घाटा भयो ।’ दुई महिनासम्म स्टोरमा राख्ने भनिए पनि महिनादिन नपुग्दै कुहिदै गएकाले दाना छानेर बाहिर फालेको उनले बताए ।
समाचार बिरेन्द्र केसीले कान्तिपुरमा लेखेका छ्न ।