अर्घाखाँची । अर्घाखाँचीका वनमा खेर जाने पातपतिङ्गरबाट प्रांगारिक मल उत्पादन गर्न सुरु गरिएको छ । शितगंगा नगरपालिका–१४ पावर सामुदायिक वनको जंगलमा पुगेर बुधबार लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवारले पातपतिङ्गरबाट मल बनाउने कार्यको शुभारम्भ गरेका हुन् ।
सरकारले रासायनिक मल किन्न बर्सेनि अर्बौँ रुपैयाँ छुट्याउँछ । सरकारले कृषि बजेटको उल्लेख्य रकम मलकै लागि विनियोजन गर्छ तर पनि किसानले समयमै मल भने पाउँदैनन् । कृषि वैज्ञानिकहरूले रासायनिक मलभन्दा पनि प्रांगारिक मल उत्पादनमा जोड दिँदै आएका छन् ।
यहाँका पावर, बुद्ध, चारपोखरी, देउराली र वाणगंगा सामुदायिक वनका उपभोक्ताले हिउँदभर पातपतिङ्गर बटुलेर जम्मा गरेका थिए । मन्त्री कलवारले यो नौलो अभ्यास सुरु गरिएको बताए । उनले युरिया मल अभाव भएको बेला यसरी संकलित पातपतिङ्गर कुहाएर बनाइने मलले कृषि उत्पादनमा तेब्बर वृद्धि हुने बताए ।
सम्वर्द्धन प्रणालीमा आधारित सामुदायिक वन उपभोक्ता समितिले काठ उत्पादन गरेको आम्दानीले गाउँमा विकास निर्माणसँगै खेर जाने पातपतिङ्गरबाट प्रांगारिक मल उत्पादनलाई प्रदेशभर कार्यक्रम बनाइने उनले बताए । ‘अर्गानिक खेती उत्पादन गर्न यो मल उपयुक्त हुन्छ,’ मन्त्री कलवारले भने, ‘डढेलो नियन्त्रण, वन सफा, छिटो बिरुवा हुर्कन सहयोग पुग्छ ।’ स्थानीयले पाँच वटा सामुदायिक वनबाट ३३ हजार किलो पातपतिङ्गर संकलन गरेका छन् ।

