काठमाडौँ — एमालेको वाग्मती प्रदेश अधिवेशनको अध्यक्षमा उम्मेदवारी दिएका कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच शुक्रबार चुनाव हुने देखिएको छ ।
अध्यक्षका प्रत्याशी दाहालले आफ्नो उम्मेदवारी कायमै रहेको बताए । ‘अध्यक्षमा मेरो उम्मेदवारी रहेको छ र केही साथीहरूले नाम फिर्ता लिनुभएको छ,’ उनले भने, ‘अध्यक्षमण्डलले सहमतिका लागि छलफल सुरु गरेको थियो त्यसमा सहमति जुट्न सकेन ।’ दाहाल एमालेका पूर्वसांसद तथा केन्द्रीय सदस्य हुन् । दाहालसँग प्रतिस्पर्धा गर्ने ढुंगेल केन्द्रीय सदस्य र प्रदेश सरकारका पूर्वमन्त्री हुन् । ‘कृष्णजीले पनि अध्यक्षमा चाहना व्यक्त गर्नुभएको छ र मेरो पनि चाहना हो । बाँकी उम्मेदवारले उम्मेदवारी फिर्ता लिनुभएको छ,’ उनले भने, ‘शुक्रबार बिहान हामीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।’
यसअघि उम्मेदवारी दिएका किशोरबहादुर बुढाथोकी, सानुकुमार श्रेष्ठ र केशवराज पाण्डेले उम्मेदवारी फिर्ता लिएसँगै दाहाल र ढुंगेलबीच प्रतिस्पर्धा हुने देखिएको हो । सहमति नभएपछि आफूले उम्मेदवारी फिर्ता लिएको श्रेष्ठले बताए । ‘सर्वसम्मत गराउनका लागि मैले उम्मेदवारी दिएको थिएँ । सर्वसम्मत अध्यक्ष हुनुपर्ने मेरो दाबी थियो,’ उनले श्रेष्ठले भने, ‘मैले आफ्नो उम्मेदवारी फिर्ता लिएको छु । अब अन्य साथीहरूबीच अध्यक्षका लागि प्रतिस्पर्धा हुन्छ ।’ वाग्मती प्रदेशसभाका पूर्वसभामुख श्रेष्ठले आफू कुनै जिम्मेवारीमा नभएको र वरिष्ठताका आधारमा अध्यक्षमा दाबी गरेका थिए । उनी एमालेको पाँचौं महाधिवेशनमा केन्द्रीय सदस्य हुन् ।
मतदान शुक्रबार बिहानबाट गर्ने तयारी एमालेको छ । एमाले मुख्यालय च्यासलमा हुने मतदानमा विद्युतीय ‘भोटिङ मेसिन’ को प्रयोग हुनेछ । वाग्मतीमा ११ सय ६७ प्रतिनिधि छन् । एमालेको पूर्वनिर्धारित तालिकामा २ दिन अधिवेशन हुने थियो तर सहमति गर्ने भन्दै पटक–पटक तालिका परिमार्जन गरियो । बुधबारदेखि नै निर्वाचनको प्रतीक्षामा रहेका कार्यकर्ताहरू पार्टी मुख्यालय च्यासलमा भेला हुँदै फर्किएका छन् ।
सहमतिका लागि भन्दै अध्यक्षमण्डलले बिहीबार बेलुकी ८ बजेसम्मको समयमा निर्धारण गरेको थियो । त्यसमा सहमति जुट्न सकेनपछि चुनाव हुने अध्यक्षमण्डलका सदस्य रहेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले बताए । अध्यक्षमण्डलले बिहीबार राति ९ बजे उम्मेदवारीको अन्तिम नामावली जारी गर्ने जनाएको थियो ।
उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावादोर्जे लामा, नारायणप्रसाद खतिवडा, राजेन्द्र राजथला, सुभासचन्द्र ठाकुरको उम्मेदवारी रहेको छ । त्यसैगरी सचिवमा रामकुमार अधिकारी, नवराज सिलवाल, रत्न गुरुङ, हस्तबहादुर पण्डितले उम्मेदवारी दिएका छन् । २ जना उपसचिवमा ओमराज पन्त, कृष्णहरि थापा, गंगादेवी श्रेष्ठ, टासी लामाको उम्मेदवारी परेको छ ।
सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले भृकुटीमण्डपमा उद्घाटन गरेको अधिवेशनको मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानमा बन्दसत्र सम्पन्न भएको थियो । अध्यक्ष ओलीले प्यानल बनाएर चुनावमा लडे उम्मेदवारी खारेज गर्ने चेतावनी दिँदै आएका छन् । मंगलबार नै निर्वाचन कार्यक्रम सक्ने जनाएको एमालेले सहमतिका लागि भन्दै तेस्रो पटक निर्वाचन तालिका परिमार्जन गरेको छ ।
‘२ सय ४० सदस्यीय कमिटीका करिब ५० प्रतिशत पदमा सहमतिका साथ चुनिनुभएको छ,’ अध्यक्षमण्डलका सदस्य तामाङले भने । यसअघि भदौ तेस्रो साता लुम्बिनीमा भएको अधिवेशनमा सर्वसम्मत गर्न केन्द्रले निर्देशन दिए पनि मतदानबाट नेतृत्व छनोट भएको थियो । जसमा राधाकृष्ण कँडेलले हरि रिजाललाई पराजित गरेका थिए । कँडेललाई उपाध्यक्ष विष्णु पौडेल र रिजाललाई महासचिव शंकर पोखरेलले अघि सारेका थिए । आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।