अर्घाखाँची ।
नेकपा एमाले अर्घाखाँचीका युवा नेता प्रेमनारायण गैरेले सरकारको आलोचना गर्दै किसानहरूको पीडामा बेवास्ता गरिएको गुनासो गरेका छन्।
नेता गैरेले बुधबार सामाजिक संजालमा लेखेर बताएका छन् राम्रो कामको खुलेर प्रशंसा गर्न र कमजोरी देखिए आलोचना गर्न आफूहरूले सधैं गरेको भए पनि अहिलेको अवस्थाले निराश बनाएको छ। “छिमेकीहरुले हाम्रो बाटो छेकेर ‘लौन बाबु, १०/८ किलो भएपनि मल मिलाइदिन’ भनेर हारगुहार गरिरहेका छन्,” गैरेले भने, “बाउआमाले मलबिना पिरोलिएको देखिरहेका छोराछोरीहरुले राज्यलाई हेर्ने दृष्टिकोण के बन्ने हो?”
गैरेले मलबिउको अभावले कृषक मात्रै होइन, देशमै केही गर्ने सपना बोकेका युवाहरू पनि निराश भएको तर्क गरे। “देशमै केही गरौँ भन्ने युवाहरूमा आश हराउँदै गएको छ,” उनले भने, “प्रत्येक दिन हजारौंको संख्यामा युवाहरू विदेश गइरहेका छन्। अब पनि सरकारले कृषकलाई मलबिउ जस्तो आधारभूत सामग्रीसमेत दिन नसक्ने हो भने बाँकी युवालाई देशभित्र भविष्य सुरक्षित छ भनेर कसरी विश्वास दिलाउन सकिन्छ?”
उनले आलोचना गर्दा पार्टीविरोधी ठहर गर्दै कारबाही गर्ने सोच अनुचित रहेको स्पष्ट पारे। “हामीले बोलेको कारण पार्टी कमजोर भएको ठानिन्छ भने हामीलाई अनुशासनको कारबाही गरियोस्। हामी त्यसका लागि पनि तयार छौं,” गैरेले प्रष्ट पारे।
गैरेले सत्तामा पुग्ने मात्र होइन, जनताको आधारभूत आवश्यकता पूरा नगर्ने हो भने कुनै हालतमा पार्टी बलियो बन्न नसक्ने स्टाटस मार्फत टिप्पणी गरे।