अर्घाखाँची । सन्धिखर्क साना शहरी खानेपानी तथा सरसफाइ नगर आयोजना उपभोक्ता मूल संस्थाका नवनिर्वाचित अध्यक्ष बाबुराम भुसालले सबै उपभोक्ताको हितमा समावेशी, निष्पक्ष र पारदर्शी ढङ्गले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रेस विज्ञप्तिमार्फत् उनले धन्यवाद ज्ञापन गर्दै भनेका छन् कि निर्वाचनमा उनी र उनका २४ जना उम्मेदवार तथा १२ जना साझा उम्मेदवार टिमप्रति ” प्रदर्शित विश्वास र समर्थनको लागि उपभोक्ताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । ” अध्यक्ष भुसालले स्वच्छ, सुरक्षित र भरपर्दो खानेपानी व्यवस्थापनलाई प्राथमिकता दिँदै सुशासन, उत्तरदायित्व र सेवाको गुणस्तर सुनिश्चित गर्ने प्रतिबद्धता रहेको बताए।
उनले विशेषगरी युवा पुस्ता र Gen Z आन्दोलनको सक्रियताले उनीहरुलाई अझ जिम्मेवार बनाएको उल्लेख गर्दै, कुनै प्रतिशोध वा पूर्वाग्रहविना उपभोक्ताको हितमा काम गर्ने वचन दिएका छन्।
भुसालले अन्त्यमा भनेका छन् “हामीलाई दिएको विश्वासको सम्मान गर्दै अब परिणाम र उत्तरदायित्वमार्फत सबैको अपेक्षा पूरा गर्ने हाम्रो एक मात्र लक्ष्य हुनेछ।”

