लक्ष्मी खनाल ,अर्घाखाँची । भूमिकास्थान नगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले आयोजना गरेको नगरस्तरीय बालभेला अन्तर्गत वादविवाद प्रतियोगिता नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै भूमिकास्थान नगरपालिका प्रमुख झबिलाल थापाले विद्यार्थीकै तर्कशक्ति, आत्मविश्वास र नेतृत्व क्षमता विकासमा वादविवादजस्ता क्रियाकलाप अत्यन्त प्रभावकारी हुने बताए।
बालबालिकामा चौतर्फी विकास, सहनशीलता, अनुशासन र अध्ययन बानी मजबुत बनाउने उद्देश्यले यस्ता कार्यक्रम आवश्यक छन्। उनले बालबालिकाको रुचि पहिचान गरी सोही क्षेत्रमा अघि बढ्न सक्ने वातावरण तयार गर्नुपर्नेमा नगरप्रमुख थापाले जोड दिए।
“पढाइ मात्र प्राथमिकता होइन। बालबालिकाले जुन क्षेत्रमा रुचि देखाउँछन्, त्यही क्षेत्रमा अब्बल बन्न दिनु जरुरी छ” थापाले भने।
यस वर्षको वादविवाद प्रतियोगिताको विषय “सामाजिक अपराध न्यूनिकरणमा दण्ड सजाय प्रभावकारी कि सचेतना?” रहेको थियो। नगरका २१ विद्यालयका २१ जनाले पक्ष र विपक्षमा प्रस्तुति दिएका थिए। कार्यक्रममा शिक्षक तथा अन्य विद्यार्थीहरूको समेत सक्रिय उपस्थिति थियो।
प्रतियोगितामा प्रभाकर माध्यमिक विद्यालयका आयुष बन्जाडे प्रथम, भगवती माध्यमिक विद्यालय पातुनडाँडाकी मोनिका आचार्य द्वितीय र बालशिक्षा आधारभूत विद्यालय असुर्कोटकी सावित्रा सुनार तृतीय भएका छन्। शारदा माध्यमिक विद्यालय ढिकुराकी बबिता पोख्रेलले सान्त्वना स्थान पाएकी हुन् ।
विजेता विद्यार्थीलाई नगरपालिकाले नगद पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरेको छ। साथै कार्यक्रममा १७ सदस्यीय पालिकास्तरीय बाल सञ्जाल समेत गठन गरिएको नगरपालिका स्रोतले जनाएको छ।
कार्यक्रम नगरप्रमुख झबिलाल थापाको अध्यक्षता र उपप्रमुख बालकृष्ण बन्जाडे, प्रमुख प्रशासकीय अधिकृत जगदिश चन्द्र नेपाली तथा शिक्षा शाखा प्रमुख तुवलाल सापकोटाको आतिथ्यतामा सम्पन्न भयो। महिला तथा बालबालिका शाखाका प्रमुख शान्ता आचार्य भुसालले स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रमको सञ्चालन शेषकान्त घिमिरे ओसनले गरेका थिए।

