प्युठान ।
प्यूठानको स्वर्गद्वारी मन्दिर दर्शनका लागि जाँदै गरेको बा २१ च ५४०७ नम्बरको कार भिङग्रीकोट भन्ने ठाउँमा दुर्घटना भएको छ । दुर्घटनामा परि तीन जना घाइते भएका छन् भने दुई जना सामान्य घाइते भएका छन् । कारमा एकै घरका ५ जना सवार रहेका थिए ।
स्वर्गद्वारी दर्शनको लागि आएका रुपन्देही जिल्ला वुटवल ८ सुख्खानगरका ५८ वर्षीय शिव गौतम, ५५ वर्षीय माया गौतम, ३० वर्षीय अच्युत गौतम, २० वर्षीय प्रज्ञा शर्मा र १८ वर्षिय प्रशंसा शर्मा दुर्घटनामा परेका हुन् ।
दुर्घटनामा परि घाइते भएका तीन जनालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र भिङग्रीमा लगिएको प्रहरीले जनाएको छ । प्राथमिक स्वास्थय केन्द्र भिंग्रीका मेडिकल अधिकृत मोदिता खत्रिले घाइतेहरुको अवस्था जोखिमरहति रहेकाले तत्काल बाहिर लैजानुपर्ने अवस्था नभएको बताएका छन । दुर्घटनामा परेका शिव गौतम र माया गौतमको अवस्था भने सामान्य रहेको छ ।
घुम्तीमा मोड नपुगेर कार दुर्घटना भएको चालकले बताएका छन् । गाडी माथिको घुम्तीबाट १५ मिटर तल्लो घुम्तीमा खसेको छ । गाडीमा ५० प्रतिशत भन्दा बढी क्षति पुगेको प्रहरीले बताएको छ । कार बिहान साढे एघार बजेतिर दुर्घटना भएको थियो ।