नेपाल राज्य संवाददाता-अर्घाखाँची ।
अर्घाखाँची जिल्लामा शैक्षिक गुणस्तर अभिवृद्धि र शिक्षक दरबन्दी मिलानका लागि स्थानीय तहहरूसँग गम्भीर छलफल गरिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले स्थानीय तहसँग समन्वय गर्दै शिक्षक दरबन्दी मिलानमा दलीयकरणबाट बच्नका लागि ठोस कदम चालिने बताएका छन् ।
कोइरालाले भने “विद्यार्थीहरूको सङ्ख्याको आधारमा शिक्षक दरबन्दी मिलान हुने छ । कम विद्यार्थी भएका विद्यालयहरूलाई समायोजन गर्ने योजना छ ।” शैक्षिक क्षेत्रमा विगतमा भएका कमजोरीहरूलाई सुधार्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त समेत व्यक्त गरे ।
कार्यक्रममा अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जिल्लाका ६ वटै स्थानीय तहमा शिक्षकहरूको समस्या रहेको भन्दै जनप्रतिनिधिहरूसँग मिलेर यसको समाधान निकाल्नुपर्ने बताए । उहाँले विद्यालय सञ्चालनका क्रममा प्रधानाध्यापकहरूको सामना हुने समस्याहरूको समाधानका लागि समन्वयको महत्त्वपुर्ण भुमिका रहने बताए ।
अर्घाखाँची शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख मणिराम पराजुलीले शैक्षिक गुणस्तर सुधारका लागि कुनै पनि कदम उठाउन आफू पछि नपर्ने बताए । उहाँले सम्पूर्ण प्रधानाध्यापकहरूलाई कानुनी जिम्मेवारी पूरा गर्न प्रेरित गर्दै स्थानीय तहका शिक्षा शाखासँग सहयोगमा लागि काम गर्ने प्रतिबद्धता गरे।
अभिमुखीकरण कार्यक्रममा भाग लिएका पाणिनी गाउँपालिका, सितगंगा नगरपालिका र छत्रदेव गाउँपालिकाका माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूले शैक्षिक क्षेत्रको क्षमता विकासका तालिम र प्राविधिक सहयोगमा कमी रहेको बताए।
कार्यक्रममा कोष नियन्त्रक विष्णुप्रसाद भुसाल, पाणिनी गाउँपालिकाका शिक्षा शाखा प्रमुख तेजप्रसाद खनाल र नेपाल पत्रकार महासंघका उपाध्यक्ष रुद्रमणि भुसालले शैक्षिक गुणस्तर सुधारका लागि आफ्ना विचार व्यक्त गरे।
अर्घाखाँची जिल्लामा शैक्षिक सुधारका लागि गरिएको यो छलफलले आगामी दिनमा शिक्षा प्रणालीमा सुधार ल्याउने र जनप्रतिनिधिहरूसँगको समन्वयलाई बलियो बनाउने अपेक्षा गरिएको छ ।