काठमाडौं । नेकपा एमालेका पूर्व सचिव तथा अर्घाखाँचीका प्रभावशाली नेता टोपबहादुर रायमाझीले कारागारभित्रबाट आगामी निर्वाचन, जनतासँगको प्रतिबद्धता र निर्वाचन परिणाम स्वीकार गर्ने विषयमा तीन महत्वपूर्ण सन्देश सार्वजनिक गरेका छन्। प्रतिनिधिमार्फत बाहिर आएको यी सन्देशले अर्घाखाँचीको राजनीतिक वृत्तमा नयाँ बहस र चासो पैदा गरेको छ।
रायमाझीले पहिलो सन्देशमार्फत आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्घाखाँचीबाट उम्मेदवारी दिने स्पष्ट संकेत गरेका छन्। उनले आफू राजनीतिक संघर्षबाट पछि नहटेको र जनताको मतबाट फेरि जनप्रतिनिधिका रूपमा जिम्मेवारी लिन इच्छुक रहेको रायमाझीको सचिवालयले बताएको हो । केही दिन अगाडि एमाले अध्यक्ष केपी ओलीको पक्षमा खुलेका रायमाझीको सन्देशसँगै अर्घाखाँचीभित्र आगामी चुनावी रणनीति र उम्मेदवारको विषयमा पुनः चर्चा सुरु भएको हो ।
दोस्रो सन्देशमा रायमाझीले जनतासँग गरेका प्रतिबद्धता पूरा गर्ने दृढ अठोट व्यक्त गरेका छन्। उनले विगतमा आफूले अघि सारेका विकास, समृद्धि र जनजीविकासँग सम्बन्धित एजेन्डा अझै पनि आफ्नो प्राथमिकतामा रहेको उल्लेख गरेका छन्। जनताको विश्वास र अपेक्षालाई कहिल्यै हल्का रूपमा नलिएको र अवसर पाए प्रतिबद्धता व्यवहारमै उतार्ने उनको भनाइ छ।
तेस्रो र सबैभन्दा राजनीतिक रूपमा अर्थपूर्ण सन्देशमा रायमाझीले निर्वाचनमा जनताले दिएको अभिमतलाई स्वीकार गर्ने बताएका छन्। आफू लोकतान्त्रिक प्रक्रियामा विश्वास गर्ने नेता भएको उल्लेख गर्दै उनले जनताको निर्णय आफ्नो लागि अन्तिम र सर्वमान्य हुने स्पष्ट पारेका छन्। जित वा हार जुनसुकै भए पनि जनादेश स्वीकार गर्ने उनको भनाइलाई लोकतान्त्रिक परिपक्वताको संकेतका रूपमा हेरिएको छ।
रायमाझीका यी तीन सन्देशलाई एमाले कार्यकर्ता तथा समर्थकहरूले उत्साहका साथ लिएका छन् भने आलोचकहरूले भने आगामी दिनमा व्यवहार र व्यवहारिक अवस्थाले धेरै कुरा निर्धारण गर्ने टिप्पणी समेत गरेका छन्। जेलभित्रबाट आएको यो सन्देश केवल व्यक्तिगत धारणा मात्र नभई अर्घाखाँचीको आगामी चुनावी समीकरणसँग प्रत्यक्ष जोडिएको विषय भएको रायमाझीका निकट लिला जीसीले बताएका हुन।
अर्घाखाँची जिल्लामा रायमाझीको लामो राजनीतिक इतिहास, संगठनमा रहेको प्रभाव र जनआधारलाई मध्यनजर गर्दा उनको उम्मेदवारीको घोषणाले स्थानीय राजनीति थप रोचक बन्ने देखिन्छ। अब पार्टीको औपचारिक निर्णय, कानुनी प्रक्रिया र जनमतले आगामी दिनको दिशा तय गर्नेछ । जेलभित्रबाट आएका यी सन्देशले एउटा कुरा भने स्पष्ट बनाएको छ टोपबहादुर रायमाझी अझै पनि अर्घाखाँचीको राजनीतिक मैदानमा सक्रिय रहन चाहन्छन् र अन्तिम फैसला जनताकै हातमा सुम्पन तयार भएका हुन् ।

