रोल्पा ।
नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेपालमा एमाले बाहेकका सबै पार्टीहरु लक्ष्य र उद्देश्य बिनाको बाटो हिडिरहेको आरोप लगाएका छन् । प्रेस चौतारी रोल्पाले बुधबार सदरमुकाम लिबाङ्मा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै रायमाझीले यस्तो बताएका हुन् । उनले अहिले सत्तामा रहेका पार्टीहरुमा कुनै पनि राजनीतिक लक्ष्य र उद्देश्य बिनानै खाली सत्ताको फाइदाको लागि मात्र लागेको बताए ।
यो देशका नागरिकहरुले सरकार छ भन्ने महशुल गर्न समेत नपाएको उनले बताए । ‘अहिलेको गठबन्धन सरकारले जनताको लागि जनपक्ष काम गर्नुको साटो आफ्नो आफन्तीलाई सेटिङ गर्ने, अनियमिता र भ्रष्टाचार गर्ने, महंगी वृद्धि गर्ने र सत्ता टिकाउनका लागि काम गरेको जस्तो बहाना गरेको हुनाले नेपाली जनताले दुख पाएका छन् ।’ उनले भने, ‘अबको एमालेको मुख्य एजेन्डा खुशी नेपाली, समृद्ध नेपाल बनाउने हो । हामी सोही एजेन्डा बोकेर नेपाली जनताका घर–घरमा जान्छौं ।’
नेपालमा व्यवस्था परिवर्तन भए पनि सत्ता परिवर्तन हुन नसकेको र एमाले सरकारमा रहदा पनि जनताको चाहना, अपेक्षा अनुसार काम गर्न नसकेको उनले जिकिर गरे । अब नेपालमा व्यवस्था सँगै सत्ता परिवर्तनको लागि एमाले लागेको उनको भनाई छ । एमाले सँग एक्लै चुनाव लड्ने कुनै पनि पार्टीको तागत नभएर र बिना भिजन खाली एमालेलाई हराउनको लागि गठबन्धन भएको समेत रायमाझीले बताए ।
फरक प्रसंगमा बोल्दै रायमाझीले अझै पनि प्रचण्ड, माधव र बाबुराम लगाएत केही नेताहरू विगतको गल्तीलाई स्वीकारेर आएमा लोकतान्त्रिक बृहत बाम गठबन्धन हुनसक्ने संकेत समेत गरे । ‘अब त्यस्ता खराब प्रवृत्ति, सोच, विचार भएकाहरुसँग गठबन्धन हुदैन । नेता शुद्धीएर आएमा गठबन्धन हुनसक्छ तर यहीँ अवस्था भएमा गठबन्धनको संभावना छैन ।’ रायमाझीले भने । प्रचण्डको दम्ब, घमण्डकै कारण देशमा आज यो अवस्था आएको उनको भनाई छ । प्रचण्डमा आएको राजनीतिक तथा वैचारिक विचलनको कारण नेकपा बिभाजन भएको रायमाझीले बताए ।
उनले पछिल्लो समय प्रचण्ड र नेकपा माओवादी केन्द्रमा आएको समस्याकै कारणले आफूहरूले प्रचण्ड र माओवादी पार्टीको साथ छाडेर नेकपा एमालेमा लागेको बताए । ‘माओवादी केन्द्र खाली खोक्रो भइसकेको छ, त्यहाँ न त कुनै विचार छ न त कुनै सिद्धान्त नै छ, सबै अन्त्य भएको कारण आज फरक ध्रुब बोकेको पार्टी नेपाली कांग्रेसको पुच्छर बनेर सत्तामा पुगेको छ ।’ रायमाझीले फेरि पनि नेपाली कांग्रेसकै पुच्छर बनेर सत्तामा पुग्ने दाउमा नेकपा माओवादी केन्द्र रहेको बताए ।