काठमाडौँ। वाणिज्य आपूर्ति तथा तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने एलपी ग्यास सिलिन्डर लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने श्रीराम ग्यास उद्योगको डिपोलाई ३ लाख रुपैयाँ जरिवना तिराएको छ। विभागको नेतृत्वमा गएको अनुगमन टोलीले भरिएका ६ हजार ३७७ सिलिन्डर स्टोर गरी राखिएको पाइएपछि जरिवाना तिराएको हो।
उपभोक्तालाई मर्का पर्ने गरी ग्यासको कृत्रिम अभाव सिर्जना गरेको आरोपमा ललितपुर २८ स्थित हरिसिद्धिमा रहेको उक्त डिपोलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ बमोजिम ‘अनुचित व्यापारिक क्रियाकलाप’ गरेको कसुरमा उद्योगलाई सोही ऐनको दफा ३९ (१) (ख) बमोजिम जरिवाना तिराइएको हो।
मध्यपूर्वी देशहरूमा भइरहेको युद्धका कारण नेपालमा ग्यासको आपूर्ति नियमित भइरहे पनि मनोवैज्ञानिक त्रासका कारण आवश्यकताभन्दा बढी सिलिन्डर सञ्चय गर्ने काम भएपछि बजारमा कृत्रिम अभाव सिर्जना गरी महँगोमा ग्यास विक्री गर्ने क्रम बढेको छ। त्यसलाई रोक्न विभागले अनुगमन बढाएको छ।
स्थानीय उपभोक्ताहरूले एउटा ग्यास सिलिन्डरका लागि दिनभरि पसल–पसल धाउनुपर्ने र नाम टिपाएर हप्तौँ कुर्नुपर्ने अवस्था सिर्जना भएको छ। यस्तोमा कृत्रिम अभाव खडा गरी कालोबजारी गर्ने क्रम बढेको छ।
विभागले सोमबार २१ वटा डिपो, उद्योग तथा खाद्य भण्डारमा अनुगमन गरेको थियो। जसमा श्रीरामलाई ३ लाख, काठमाडौँ मैतीदेवीको बडिमालिका खाद्य भण्डारलाई १५ हजार र कीर्तिपुरको दुवाडी स्टोर एन्ड मल्ट्री ट्रेडलाई ५ हजार रुपैयाँ जरिवाना तिराएको छ। अन्य १८ उद्योगलाई सामान्य निर्देशन दिइएको विभागले जनाएको छ।

