काठमाडौं । मनसुन सुरु भएसँगै देशभर बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक विपद्को सम्भावना बढेकाले नागरिकको जीवन र सम्पत्तिको रक्षा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विशेष सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।
पार्टीका कार्यवाहक सभापति डोल प्रसाद अर्यालले सोमबार एक विज्ञप्ति जारी गर्दै विपद् व्यवस्थापन र उद्धार कार्यमा सक्रिय रहन पार्टीका सबै तहका समिति, विभाग, सदस्य र शुभेच्छुकहरूलाई अपिल गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, “विपद्को समयमा मानवीय सेवाको भावनाले नागरिकको सेवा गर्नु सबैको कर्तव्य हो। हामी सबै थप सचेत र पूर्व तयारीमा जुट्नुपर्ने आवश्यकता टड्कारो देखिएको छ।”
रास्वपाले सबै नागरिक, निकाय र सरोकारवालालाई दलीय स्वार्थभन्दा माथि उठेर विपद्को सामना गर्न आग्रह गर्दै सम्पूर्ण नागरिकको जीवन रक्षा सबैको साझा जिम्मेवारी भएको उल्लेख गरेको छ।
अर्यालले पार्टीका सदस्यहरूलाई उच्च सतर्कता अपनाउन र मानवीय सेवाको उच्चतम भावनाका साथ तयारी अवस्थामा रहन विशेष अपिल गरेका छन्।

