पाल्पा –पाल्पा जिल्ला रम्भा गाउँपालिका–४ हुमिनस्थित लालीगुँरास बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक विष्णुबहादुर बम्रेल ठगी आरोपमा पक्राउ परेका छन्।
जिल्ला प्रहरी प्रमुख पवनकुमार भट्टराईका अनुसार, बम्रेलले करिब २ करोड ८७ लाख ५७ हजार रुपैयाँ सहकारीमार्फत फर्जी कर्जादाता देखाई अपचलन गरेको आशंकामा घरमै छापा मारेर नियन्त्रणमा लिइएको हो।
२०७८ माघमा अध्यक्ष बनेका सुवी विकले रकम लगानीबारे प्रश्न उठाएपछि अनियमितता सतहमा आएको बताइएको छ। सञ्चालक समितिलाई जानकारी नदिइ रकम प्रयोग भएको उजुरीकै आधारमा प्रहरीले कारबाही अघि बढाएको हो।
यो सहकारीमा रम्भा, पूर्वखोला, बगनासकाली र माथागढी गाउँपालिकाका झण्डै एक हजार सेयर सदस्य छन्। बचतकर्ताको करिब पाँच करोड र राष्ट्रिय सहकारी बैंकको झण्डै एक करोड रुपैयाँ अझै फिर्ता गर्न बाँकी छ।
२०६४ सालमा संस्थापक अध्यक्षका रूपमा सक्रिय बम्रेल पछिल्लो समय व्यवस्थापक बनेका थिए। उनीमाथि प्रारम्भिक अनुसन्धानका लागि सात दिनको म्याद थपिएको प्रहरीको भनाइ छ।