पोखरा, ९ साउन — हर्नियाको उपचारका लागि पोखरा आएका बागलुङको जैमिनी नगरपालिका–७ ढावाका पूर्व वडाध्यक्ष ६३ वर्षीय जितबहादुर राना मगरको मृत्यु भएपछि आफन्तहरुले पोखरास्थित गण्डकी मेडिकल कलेजमा तोडफोड गरेका छन्।
विहिबार बिहान करिब १०:४५ बजे अस्पतालमा उनी बेहोस भएपछि डाक्टरले मृत घोषणा गरेका थिए। मगरको केही दिनअघि (साउन ५ गते) सोही अस्पतालमा हर्नियाको शल्यक्रिया गरिएको थियो।
शल्यक्रिया पछि स्वास्थ्यमा सुधार देखिएको र बुधबार ड्रेसिङपछि आफन्तहरूसँग भिडियो कलसमेत गरेर छिट्टै घर फर्किने बताएको आफन्तले बताएका छन्। तर सोही दिन ड्रेसिङ गर्ने क्रममा उनी एक्कासी बेहोस भएका थिए।
एक आफन्तका अनुसार, “ड्रेसिङका लागि डाक्टर आफैंले साथमा लिएर गएका थिए। त्यसपछि विरामी फर्किएनन्। एक घण्टापछि हेर्दा घोप्टो अवस्थामा भेटिनुभयो।”
घटनापछि अस्पतालमा आक्रोशित आफन्तहरूले तोडफोड गरेका थिए। उनीहरूले लापरवाहीका लागि जिम्मेवार चिकित्सकलाई कारवाही गर्नुपर्ने र उचित क्षतिपूर्तिको माग गरेका छन्।
डाक्टर ड्रेसिङका लागि लिएर गएपछि अहिले सम्म सम्पर्कमा नआएको भन्दै आफन्त आक्रोशित बनेका हुन्।
पीडित पक्ष र अस्पताल प्रशासनबीच वार्ता भए पनि अस्पतालले लापरवाही स्वीकार गरे तापनि अन्य मागमा कुनै निर्णय नभएको कारण तनाव अझ चुलिएको हो।
हालसम्म प्रहरी र अस्पताल प्रशासनले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् भने मृतकको पोष्टमार्टम तयारी भइरहेको जनाइएको छ।

