केशब पन्थी, अर्घाखाँची ।
जतन गरि राख साथीहरू हो जिवनको डायरी
लेख्नु पर्ला भोलि इतिहासको पेचिलो शायरि।
प्रजातन्त्र, एकतन्त्र,लोकतन्त्र र गणतन्त्र गरि
दशक दसकको दह्रो हिसाब गर्दै सोध्नु छ मैले
मेरै समकक्षी, सहधर्मी, सहकर्मिहरुसङ्ग
मेरै निम्ति तेर्सिएका प्रश्न माथीको प्रतिप्रश्न।
के म मात्रै कि मेरो यो पुस्तैनै हो निकम्मा?
म मात्रै कि हामी सबै हौं यो दुर्दिनको कारक?
या कतै कोहि अमुक ए बि सि लाई गाली गर्दै
त्यसले गर्दा त हो देश भाडिएको मात्र भन्यौ कि?
आफू युवा हुदा, स्वाबलम्बी र स्वतन्त्र हुदा कतै
वास्तै गरेनौ कि, प्रश्नै गरेनौ कि, या निष्क्रिय बन्यौ?
के आज प्रश्न गर्न मिल्ला, यहि “मास्कबादी” अनुहारले
लेख्न मिल्ला र क्रान्ति र परिवर्तनका गौरव गाथाहरु?
जुन पुस्ताले एक पटक एउटा आन्दोलन गर्यो अनि
फेरि फर्किएन सडक थर्काउने आवाज लिएर भिडमा
वस्ता पनि गरेन के भन्दै छ नबयुग, सुनेन सत्याग्रह पनि।
केवल गुनासोले बन्दैन देश, निराशाले पनि बन्दैन देश
बन्छ त केवल जन जन बिचको सत्प्रयासले यो देश।।
अब एउटा पुस्ता होइन सबै जिउदाहरु ब्युझाउने
सुतेको अभिनय गर्नेहरुलाई त जुरुक्कै उठाउने
जुटौ त क्रान्तिमा मित्रहरु फेरि एकपटक जागर छदै
यो मेरो पुस्तालाई लागेको “अकर्म”को दाग मेटाउन
नेपाली आकाशमा मडारिएको कालो बादल हटाउन
उठौ त एकफेर हामी, सबैको मुहारमा खुशी फर्काउन।।