अर्घाखाँची । प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामबहादुर चौहानले यसपटकको निर्वाचनमा आफू विजयी हुन नसके पनि आफूलाई विश्वास गरेर मत दिने मतदाताको मत कहिल्यै खेर जान नदिने बताएका छन्।
आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै चौहानले निर्वाचन परिणामलाई सम्मान गर्दै जनताको भावना र विश्वासलाई सधैं उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले पदमा नपुगे पनि जनताको हकहित, अधिकार र जिल्लाको विकासका सवालमा निरन्तर सक्रिय रहने बताए।
चौहानले अर्घाखाँचीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हरिप्रसाद भुसाललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै निर्वाचित प्रतिनिधिले जिल्लाको समग्र विकास, जनअपेक्षा र आवश्यकताअनुसार प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरे।
उनले जनताले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहलाई प्रधानमन्त्रीका रूपमा देख्न चाहेकाले आफूलाई अपेक्षित मत नआएको टिप्पणी पनि गरे। साथै निर्वाचन लोकतन्त्रको सुन्दर अभ्यास भएको उल्लेख गर्दै मतदाताले दिएको साथ र समर्थनप्रति आभार प्रकट गरे।
आगामी दिनमा पनि जनतासँगै रहेर सामाजिक तथा राजनीतिक जिम्मेवारी निर्वाह गर्ने उनले बताए।
पत्रकार सम्मेलनमा सहभागी जिल्लाका सम्पूर्ण पत्रकार तथा सञ्चारकर्मीलाई धन्यवाद दिँदै चौहानले निर्वाचन सकिएसँगै राजनीतिक प्रतिस्पर्धा समाप्त भएको र अब जिल्लाको विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।

