वीरेन्द्र केसी
अर्घाखाँची — दाङको देउखुरीमा लुम्बिनी प्रदेशको स्थायी राजधानी स्थापना भएपछि प्रदेश राजधानी जोड्ने सडक सञ्चालनको आशा पलाएको छ । अर्घाखाँचीबाट सिधै आउजाउ गर्ने सडक दुई दशक बितिसक्दा पनि अधुरै छ । २४ वर्षसम्म अधुरै रहेको गच्छे–भालुवाङ सडकलाई राजधानी स्थापनापछि चासो दिन थालिएको हो ।
सुरुमा सदरमुकाम जोड्न गच्छेबाट धनचौर गाउँसम्म यातायातको पहुँच पुर्याउने भनेर सडक निर्माणको काम सुरु गरिएको थियो । पछि यसलाई दाङ र अर्घाखाँचीलाई जोड्ने भन्दै गच्छे–भालुवाङ नामकरण गरियो । तर, बजेट पर्याप्त नभएकाले वर्षौंसम्म पनि योजना सम्पन्न हुन सकेको छैन । पछिल्ला चुनावमा उम्मेदवार र दलका नेताले चुनावी एजेन्डा बनाए पनि जितेपछि यो सडकलाई महत्वको रूपमा चासो नै दिइएको छैन ।
दुर्गम गाउँ सिद्धारा, जलुके र जुकेनाको मुहार फेर्ने उद्देश्यले गच्छे–भालुवाङ सडक २०५६ सालबाट निर्माण सुरु भएको हो । यस सडक शितगंगा नगरपालिका वडा ५, ६, ७ र ८ भएर जान्छ । यहाँको वडा ७ र ८ को केही भूगोल स्थायी राजधानीमा समेटिएको छ । नौमुरे बहुउद्देश्यीय आयोजना, योगका प्रवर्तक पतञ्जलीको जन्मस्थल जलुके, राप्ती नदी पनि भएको यो धार्मिक पर्यटकीय र व्यापारिक सडक बेवास्ताको सिकार भइरहेको सरोकारवालाले बताएका छन् ।
पूर्वजिविस सभापति पीताम्बर भुसालले हालका सांसदले गच्छे–भालुवाङ सडकको बजेट काटेर अन्यत्र लैजाने गरेको र बजेट पार्न खासै चासो नदिएकाले २४ वर्षसम्म पनि सडक अधुरै रहेको बताए । देउखुरी आउजाउ गर्न गुल्मी, पाल्पा र अर्घाखाँचीवासीका लागि यो सबैभन्दा छोटो दूरीको सडक हो । अर्घाखाँचीबाट भालुवाङ आउजाउ गर्न सन्धिखर्क–गोरुसिंगे सडक हुँदै पूर्व–पश्चिम राजमार्गको बाटो हिँड्नुपर्छ । सन्धिखर्क–गोरुसिंगे–भालुवाङ १ सय २४ किमि दूरी छ । सन्धिखर्कबाट दुई किमि टाढाको गच्छे–भालुवाङ सडक ६४ किमिको रहेको छ ।
शितगंगा–७ का पूर्ववडाध्यक्ष मोहन पन्थीले गच्छे–भालुवाङ सडकलाई राज्यले नै प्राथमिकतामा नराखेको बताए । जलुके, जुकेना क्षेत्रका गाउँका सडक पूरा नभएका कारण पछाडि परेको उनले बताए । प्रदेश राजधानीमा अर्घाखाँचीको भूगोल समेटिएपछि र तालाताल–भालुवाङ सडकको ट्र्याक खुल्यो भने यस क्षेत्रको विकास, गाउँको आर्थिक रूपान्तरण हुनेमा आशावादी रहेको उनले बताए । ‘पतञ्जलीको जन्मस्थल पुष्टि भएपछि धार्मिक तीर्थस्थल हुनेछ,’ उनले भने, ‘यहाँ पतञ्जलीको मूर्ति पनि स्थापना भएको छ ।’ सडक विस्तार भए गाउँको तरकारी, अन्न उत्पादन र पशुपालनमा वृद्धि हुने अपेक्षा गरिएको छ ।कान्तिपुर दैनिकमा खबर छ ।