नेपाल राज्य संवाददाता
अर्घाखाँची– मंसिर ४ गते हुने संघ र प्रदेशसभा सदस्य चुनावका लागि एमाले अर्घाखाँचीले सोमबार सदरमुकाम सन्धिखर्कमा अगुवा कार्यकर्तालाई प्रशिक्षण दिँदैछ । प्रशिक्षण दिन एमाले केन्द्रीय उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पोलिटब्युरो सदस्य देवी ज्ञवाली, खिमलाल भट्टराई, सुर्य थापा, विमला घिमिरे, केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का, वोमबहादुर विक, चेतनारायण आचार्य लगायतका नेताहरुले अगुवा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसालले बताए ।
६१ वडा कमिटीको पदाधिकारी ५ जना सहित माथिल्लो जिम्मेवारीका व्यक्ति, नगर र गाउँ कमिटीका सबैजना गरी करिब ११ सय जना उपस्थिति रहने उनले बताए । ‘यो मुलत पाटीको नियमित कलास (प्रशिक्षण) पनि हो,’ भुसालले भने, ‘निर्वाचनको मिति तय भएको अवस्थामा चुनावको तयारीका लागि पनि हो । प्रशिक्षणपछि गाउँ–गाउँमा पुगेर एमाले उम्मेदवारलाई चुनावमा जिताउने अभियान हो ।’
त्यसपछि दोस्रो चरणमा पालिका र वडा स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम पनि लगत्तै गरिने उनले बताए ।