प्युठान, असार ९।
अखिल (छैठौं) प्युठानले युवालाई विदेश पलायनको विकल्पमा स्वदेशमै अवसर सिर्जना गर्न अभिप्रेरित गर्ने उद्देश्यसहित ‘देश कि विदेश’ शीर्षकको जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।
प्युठान नगरपालिका–५ जुम्रिकाँडास्थित सिद्ध माध्यमिक विद्यालयमा आइतबार सम्पन्न कार्यक्रममा संगठनका जिल्ला अध्यक्ष बसन्त राज गोराथोकीको नेतृत्वमा अभियान सञ्चालन गरिएको हो।
जिल्ला समितिका सदस्य सागर सुनार तथा अखिल नेपाल युवक सङ्घ प्युठानका भिरेन्द्र विकको विशेष आतिथ्यता रहेको कार्यक्रममा स्थानीय युवाको उल्लेखनीय सहभागिता देखिएको थियो।
कार्यक्रमकै अवसरमा ७७ सदस्यीय एकाइ समिति गठन गरिएको छ। समितिको अध्यक्षमा प्रशान्त सुनार चयन भएका छन् भने सिर्जना विक उपाध्यक्ष, रामसरी बुढा सचिव, कमल न्यौपाने सहसचिव तथा निर्मला परियार कोषाध्यक्षमा चयन भएका छन्।
कार्यक्रमले स्थानीय युवामा देशमै अवसर खोज्न सकिने सम्भावनाबारे सकारात्मक सन्देश प्रवाह गरेको हो ।