नेपाल राज्य संवाददाता
अर्घाखाँची– सरकारले २०७९ मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनको मिति घोषणा गरेको छ । केन्द्रमा ५ दलीय गठबन्धन गरेरै चुनावमा जाने सहमती गरेका छन् भने एमाले एक्लै चुनाव लड्दैछ । माओवादीबाट लगातार तीन पटक चुनाव जितेर धेरै पटक मन्त्री र उपपधानमन्त्रीसम्म भएका रायमाझीलाई मंसिर ४ को चुनावमा ५ दलसँग भिड्न सजिलो छैन् ।
एमाले र माओवादी मिलेर बनेको (नेकपा) विभाजनपछि रायमाझीले पुष्पकमल दाहाललाई छाडेर केपी ओलीतिर लगेका थिए । एमालेभित्र शीर्ष नेता रायमाझीलाई चुनाव जिताउनकै लागि पाटी नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिन नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ अर्घाखाँची आउँदै छन् ।
साउन ३० गते जिल्ला स्तरीय बृहत अगुवा कार्यकर्तालाई प्रशिक्षण दिन नेम्वाङ आउने भएको एमाले जिल्ला प्रचार विभाग प्रमुख शोभाखर पन्थीले बताए । नेम्वाङको प्रशिक्षणपछि एमालेले गाउँ स्तरमा खटेर उम्मेदवारलाई जिताउन लाग्नेछ । चुनावी प्रशिक्षण, पाटीको अवस्था, रणनीति लगायतका विषयमा प्रशिक्षण हुनेछ । स्थानीय तहको चुनावमा अर्घाखाँचीमा ५ दलीय गठबन्धन असफल भएपछि एमाले उत्साहित छ ।