नेपाल राज्य संवाददाता
अर्घाखाँची– राष्टिय प्रजातन्त्र पाटीबाट अर्घाखाँची प्रदेशसभा १ (क) का उम्मेदवार झविन्द्र फुल्लेलले अर्घाखाँचीको मुहार राप्रपाले बदल्ने दावी गरेका छन् । उनले युवालाई स्वदेशमै रोजगारी सहित अर्घाखाँचीको विकासलाई नयाँ ढंगले राप्रपाले गर्ने बताए । ठुला दलले समाजसेवाको रुपमा रहेको राजनीतिलाई बिजनेस बनाएको आरोप लगाए ।
‘हिन्दुराष्ट्र र राजा सहितको व्यवस्था आवश्यक छ,’ नेपालराज्यसँग फुल्लेलले भने, ‘यसले मात्रै देशको विकास हुन्छ । संघीयताले खर्च बढी भएर बेथिति भएको छ ।’ स्थानीय उत्पादनलाई जोड दिदै कृषि उद्यमलाई प्राथमिकतामा राखेर विदेश जाने युवालाई कृषिमै उद्यमी बनाउने र गाउँ–गाउँमा रोजगारीका अवसर सृजना गर्नुपर्ने बताए । त्यसको लागि भाईभैसी, बाख्रा, कुखुरा, बंगुर सहितका मासुजन्य र दूध उत्पादन गर्न पशुपालनलाई व्यापक विस्तार गर्ने र अमला, तेजपात, मरौटी, टिमुर लगायतका जडिबुटी बाँझो बारीमा खेती गरेर युवालाई स्वरोजगार बनाउन सकिने प्रशस्त माध्यम रहेको उनको दावी छ ।
गाउँका सबै सडक पिच तथा ग्राभेल गर्ने, सडक व्यवस्थापन, खानेपानी र सिचाई सविधा, विशेषज्ञ डाक्टर सहितको जिल्ला अस्पतालमा स्वास्थ्य सुविधा, विभिन्न विषयमा स्नाकोत्तर (डिग्री) तह जिल्लामै पढाई हुने, प्राविधिक शिक्षा सहित पूर्वाधार विकासलाई तीव्र गतिमा लैजाने र अर्घाखाँचीलाई नमूना जिल्ला बनाउने भिजन राप्रपासँग भएको उनको तर्क छ ।