रुपन्देही ।
लुम्बिनी प्रदेश सरकारको मुख्य साझेदार दल नेपाली कांग्रेस र माओवादी केन्द्रले आफ्ना सांसदहरुलाई भाग पुराउन ५ महिने मन्त्री बनाउने तयारी गरेका छन् ।
गत साउन २६ गते १६ महिना सरकार चलाउन गठबन्धनको नेतृत्व गरेका मुख्य साझेदार दलहरु माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी तथा नेपाली कांग्रेसका संसदीय दलका नेता बीरेन्द्र कनौडियाले आधा आधा सरकारको नेतृत्व गर्ने सम्झौता गरेका थिए ।
यो सहमतिअनुसार फागुनमै माओवादीबाट सरकारको नेतृत्व गरेका मुख्यमन्त्री कुलप्रसाद केसीले कनौडियालाई हस्तान्तरण गर्नुपर्ने थियो तर माओवादीले पूर्वसहमति पालना गर्न चाहेन । उल्टै कांग्रेसभित्रको विवादमा खेलेर समय लम्बाएको थियो । लगत्तै स्थानीय तहको निर्वाचन, त्यसपछि नीति तथा कार्यक्रम र बजेटले ढिलाई भयो । मुख्यमन्त्री नै फेर्नेगरी सहमति भएपनि तत्कालका लागि केन्द्रमा सहमति नजुटेकाले प्रमुख साझेदार नेपाली काँग्रेसले मन्त्री फेरबदल गर्ने तयारी गरेको हो । मन्त्री फेरबदलको लागि नेपाली काँग्रेसले प्रस्ताव गरेको र सोही अनुसार तयारी गरिएको सांसदहरुले बताएका छन् । कांग्रेसले मन्त्री फेर्ने तयारी गरेपछि माओवादीले पनि भाग पुराउन मन्त्री फेर्ने तयारी गरेको हो । मन्त्री फेर्ने तयारीमा छलफल चलेको माओवादी लुम्बिनी अध्यक्ष सुदर्शन बरालले बताए ।
जसपा, राष्ट्रिय जनमोर्चा समेतको सहयोगमा माओवादी र काँग्रेसले गत साउनमा आलोपालो नेतृत्व गर्ने सहमति गररी सरकार बनाएका थिए । यो सहमति अनुसार फागुनमै मुख्यमन्त्री फेरिनुपर्ने भएपनि स्थानीय तहको निर्वाचन तयारी, केन्द्रको समीकरण नमिल्दा मुख्यमन्त्री फेरिएको छैन ।
दलहरुले सरकारको नेतृत्व नफेरी मन्त्री फेरे मिलाउने तयारी गरेका हुन् । काँग्रेसले बजेटलगत्तै मन्त्री फेरबदल गर्न खोजेपनि मुख्यमन्त्री कुलप्रसाद केसीले केही समय पर्खिन भनेकाले केही समय ढिला भएको हो । अव बढीमा एक हप्ताभित्रै काँग्रेसले पार्टीबाट मन्त्री भएकालाई फिर्ता बोलाउने र नयाँ अनुहार सरकारमा पठाउने काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले बताएका छन् ।
यद्यपि सबै मन्त्रीलाई फिर्ता बोलाउने या केहीलाई मात्रै हेरफेर गर्ने भन्ने टुंगो लागिसकेको छैन ।
सत्ता साझेदार माओवादी केन्द्र र काँग्रेसबीच पुरानो सहमतिअनुसार काँग्रेसभित्रै पनि मुख्यमन्त्री फेर्नुपर्ने लविङ भइरहेपनि कांग्रेकै मुख्य नेताहरु काँग्रेस लुम्बिनी संसदीय दलका नेता कनौडियासँग विश्वस्त नभएकाले त्यो संभावना करिब टरिसकेको छ । तर थोरै समय भएपनि मुख्यमन्त्री बन्न उनी काठमाण्डौमा धर्ना दिएर बसेका छन् । कनौडियाले दलका केन्द्रीय नेताहरु बीचमा समझदारी हुनेवित्तिकै मन्त्री परिवर्तन हुने बताए । मन्त्री परिवर्तन हुने भएपछि सांसदहरुको मन्त्रीका लागि दौडधुप सुरु भएको छ ।
कांग्रेसले मन्त्री परिवर्तन गर्ने प्रस्ताव गरेपछि तयारी सुरु भएको हो । पाँच दलीय गठबन्धनबाट बनेको सरकारको नेतृत्व नै आलोपालो गर्ने सहमति भए अब एक हप्ताभित्रै मन्त्रीहरु परिवर्तन हुने नेताहरुले बताएका छन् । संघ र प्रदेशको निर्वाचन नजिकै आएको र मन्त्रीको कामसमेत प्रभावकारी नभएकाले मन्त्री परिवर्तन गर्नुपर्ने आवाज माओवादीभित्र पनि उठेको छ ।
‘मन्त्री परिवर्तन गर्न कांग्रेसले प्रस्ताव गरेको हो, मन्त्री फेरिँदा माओवादीको पनि परिवर्तन गर्नुपर्छ भन्ने विषयमा छलफल भएको छ’ – नेकपा माओवादी लुम्बिनी प्रदेशका अध्यक्ष एवं सांसद सुदर्शन बरालले बताए । लुम्बिनी प्रदेशमा १७ सदस्यीय मन्त्रीमण्डल भएपनि स्वास्थ्य राज्यमन्त्रीबाट विमलाकुमारी वली खत्रीले राजीनामा दिएपछि १६ सदस्यीय छ । जम्बो मन्त्रीमण्डल बने पनि सरकारको कामकारवाहीले गति नलिएको र बजेटसमेत खर्च हुननसकेको भन्दै आलोचना भएको छ । उता बजेट निर्माणमा समेत मुख्यमन्त्री तथा माओवादीबाट आर्थिक मामिला मन्त्री बनेका कृष्णध्वज खड्काले एकलौटी गरेको भन्दै सत्ता साझेदार दल नेपाली कांग्रेसमा असन्तुष्टि बढेको छ । बजेटमा माओवादीका नेताहरु समेत अर्थमन्त्री खड्कासँग असन्तुष्ट रहेका छन् ।
कतिपय मन्त्रीले मन्त्रालय फुटाएर बनाएकाले बजेट मात्रै होइन, गतिलो बस्ने कार्यालयसमेत नपाएको गुनासो पोखेका छन् । अर्थमन्त्री कृष्णध्वज खड्काले बजेट निर्माणमा सत्ता साझेदार दल र मन्त्रीहरुको भावनालाई सम्बोधन गर्न नसकेको दलका नेता र मन्त्रीहरुले बताउँदै आएका छन् ।
माओवादीभित्र अर्थमन्त्री खड्कालाई परिवर्तन गर्नुपर्ने आवाज नेताहरुले उठाएका छन् । कांग्रेस भने वीरबहादुर राना, सुरेन्द्र हमाल, वसिउद्धिन खाँन, राज्यमन्त्री रिना नेपाल विक र अर्जुन श्रेष्ठलाई परिवर्तन गर्ने तयारीमा रहेको छ । कांग्रेसका डिल्ली बहादुर चौधरीलाई मुुख्यमन्त्री केसीले परिवर्तन गर्न चाहेका छैनन् । तर, कांग्रेसकै एउटा समूह उनलाई पनि हटाउनुपर्ने पक्षमा छ । जनता समाजवादी पार्टीबाट मन्त्री भएका तीन जना र नेकपा एसका मन्त्री भने तत्काल हटाउने सम्भावना छैन ।