अर्घाखाँची -नेकपा (एकीकृत समाजवादी) अर्घाखाँचीका अध्यक्ष रामबहादुर चौहानले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय पुनःस्थापना गर्न अर्घाखाँचीबासीलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन्।
इलाम, म्याग्दी र जुम्लाले निरन्तर संघर्ष र मागका कारण कार्यालय पूर्ववत् रूपमा आर्थिक अधिकारसहित कायम गराउन सफल भएको उदाहरण दिँदै चौहानले भने, “इलाम, म्याग्दी र जुम्लाले गर्न सके अर्घाखाँचीले किन नसक्ने?”
अध्यक्ष चौहानले यसअघि पनि सामाजिक सञ्जाल, इमेल र विभिन्न माध्यममार्फत प्रधानमन्त्री, संघीय खानेपानी मन्त्री र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराइए पनि सुनुवाइ नभएको बताएका छन् । “एक्लै संसद घेराबन्दी गर्ने तहमा पुग्न सकेनौं, तर अब सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, नागरिक समाज, उद्योगी–व्यापारी र विदेशमा रहेका अर्घाखाँचीबासी एकजुट हुनुपर्छ,” चौहानले जोड दिए।
उनका अनुसार कार्यालय अर्घाखाँचीमै रहेमा कम्तीमा १० जनाको रोजगारी जोगिन्थ्यो, गुल्मीका बासिन्दाले पनि सेवा पाउने थिए, सन्धिखर्कको चहलपहल बढ्नेथियो र खानेपानीको सामान्य समस्या लिएर बुटवल धाउनुपर्ने अवस्था हट्थ्यो।
चौहानले स्पष्ट पार्दै भने “महत्त्वपूर्ण कार्यालय निरन्तर विस्थापन भइरहे अर्घाखाँचीको अवस्था भोलि के हुने हो?” उनले अखण्ड लुम्बिनी प्रदेशको आन्दोलनको जस्तै दृढतासहित यो मुद्दामा पनि जुट्न सामाजिक संजाल मार्फत सबैलाई हार्दिक अपील गरेका हुन् ।

