अर्घाखाँची शितगंगा नगरपालिकाले मौवाको रक्सीलाई ब्राण्ड बनाउन नीति तथा कार्यक्रममा समावेश गरेको छ । मौवाको रुखमा फुल्ने फुलाई बटुलेर शितगंगाको सिद्धारा, जलुके, सिमलपानी लगायतका गाउ“मा मगर समुदायले घरेलु मदिरा बनाउने गर्छन् । त्यसलाई अब नगरपालिकाले ब्राण्डिङ गर्ने भएको हो ।
पहिलो चरणमा नगरभित्र मौवाका बोट कति छन्, मदिरा उत्पादनको अवस्था र सम्भाब्यता अध्ययन गरेर छिटै ऐन कानून बनाएर मौवाको रक्सीलाई ब्राडिङ गर्ने गरी नगरसभामा नीति तथा कार्यक्रममा पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले बताए । घरेलु मदिरलाई ब्राण्डिङ गर्ने, उद्योगको रुपमा विकास गर्दै व्यावसायीक बनाउने लक्ष्य हो ।
‘अहिले नीति तथा कार्यक्रममा पारित ग¥र्यौ, अब तत्कालै अध्ययन गर्छौ, त्यसपछि मौवाको मदिरा ब्राण्डिङ गरेर युवालाई स्वरोजगार बनाउने लक्ष्य हो,’ उनले भने, ‘यसमा सबै जनप्रतिनिधिको सर्वसम्बत समर्थन छ । स्थानीय मदिरालाई ब्राण्डिङ गरेर कानुनी मान्यता दिने उद्देश्य हो ।’
क्षेत्रफलका हिसाबले देशकै ठुलो नगर शितगंगामा बस्ती भन्दा धेरै जंगल छ । घरहरु छरिएर रहेका छन् । जंगलमा मौवाका रुख प्रशस्त छन् । नगरपालिकाले मौवा खेतीलाई व्यवस्थित रुपमा विस्तार गर्ने भएको छ ।
शितगंगाको नीजि तथा वनमा मौवाको जंगल छ । मौवाको फुल बटुलेर मगर समुदायले रक्सी बनाउने परम्परा नै छ । थोरै खाए लाग्ने, फुलको अर्गानिक भन्दै ठुला शहरबाट मौवाको रक्सी माग हुने गरेको छ । गाउँलेले खुसी पार्न शहरमा मौवाको रक्सी उपहार स्वरुप पठाइदिने गर्छन् ।
सम्भाब्यता अध्ययनपछि घरेलु रक्सीको ब्राण्डिङ गर्ने, गाउ“मै इजाजत दिएर उद्योग खोल्ने र मौवाको व्यापक रुपमा खेती योजना नगरको छ । नगर प्रमुख छविलाल पौडेलले मौवा सहित कोदोको पनि रक्सी ब्राण्डिङ गरिने बताए । नगरभित्रका आरुबखडा, चिउरी, चौतारी सहित फलफलुको पनि पेय पदार्थ बनाउने उनले बताए । यसको लागि व्यापक चिउरी खेतीलाई प्राथमिकता दिइनेछ । उत्पादनलाई वृद्धि गर्दै लैजाने र ऐन बनाई गुणस्तर मापन गरेर गुणस्तरीय रक्सी तथा पेय पदार्थको ब्राण्डिङ गरी ठुला शहर सहित नेपालभर शितगंगाको उत्पादन निर्यात गर्ने योजना उनले सुनाए ।
लाइसन्स दिएर कानुनी मान्यताप्राप्त गराएर धेरैलाई मदिरा तथा पेय पदार्थको उद्यमी बनाइने भएको हो । ‘उत्पादनलाई वृद्धि गर्दै घरेलु मदिरा र पेय पदार्थको ब्राडिङबाट धेरै नगरवासी स्वरोजगार हुन्छन्,’ उनले भने, ‘गाउँमा उत्पादन भएको अर्गानिक वस्तु बनाउने हो ।’