अर्घाखाँची । नेकपा (एमाले)को ११औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै अर्घाखाँचीबाट तीन जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
काठमाडौँमा बिहीबार सम्पन्न महाधिवेशनको अन्तिम मतगणनाअनुसार खुल्ला तर्फ लुम्बिनीका मुख्य मन्त्री चेतनारायण आचार्यले १२५१ मत प्राप्त गरी केन्द्रीय सदस्यमा निर्वाचित भए। यस्तै, दलित खुल्ला तर्फ बोमबहादुर विश्वकर्माले १४६० मत ल्याउँदै विजय हासिल गरेका छन् भने महिला खुला तर्फ सरिता भुसालले १७८२ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएको नेकपा (एमाले) अर्घाखाँचीले जानकारी दिएको हो ।
अर्घाखाँचीबाट तीन जना प्रतिनिधि केन्द्रीय कमिटीमा निर्वाचित भएपछि जिल्लामा एमाले निकट कार्यकर्ता तथा समर्थकहरूले उत्साहित हुँदै सामाजिक संजाल मार्फत शुभकामना दिएका हुन् ।

