काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली का पिता स्वर्गीय मोहनप्रसाद ओलीको निधनपछि देशभर शोकको वातावरण बनेको छ । श्रद्धाञ्जली अर्पण गर्न विभिन्न तहका नेता तथा कार्यकर्ताहरू भक्तपुर पुगिरहेका छन् ।
यसै क्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले पनि ओली निवास पुगेर अध्यक्ष ओलीलाई भेट गर्दै दिवंगत पिताप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । उहाँले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको हो ।
यसैगरी नेकपा एमाले अर्घाखाँचीका अध्यक्ष पीताम्बर भुसाल भक्तपुर पुगेर दिवंगतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । उहाँले शोकाकुल परिवारजन तथा आफन्तप्रति गहिरो समवेदना व्यक्त गर्दै यस कठिन घडीमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्नुभएको जिल्ला कमिटीले जनाएको छ ।
स्वर्गीय मोहनप्रसाद ओलीको शुक्रबार ९७ वर्षको उमेरमा निधन भएको थियो । उहाँको निधनप्रति राजनीतिक, सामाजिक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।
श्रद्धाञ्जली अर्पणका लागि लुम्बिनी प्रदेश सरकारका मन्त्रीहरू नेकपा एमालेका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

