काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरिप्रसाद भुसालले आफ्नो निर्वाचन जितको आधार जनताको साथ, त्याग र विश्वास रहेको बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचन परिणाम सहज रूपमा नआएको उल्लेख गर्दै नागरिकको सक्रिय सहभागिताले मात्र सम्भव भएको स्पष्ट पारे।
भुसालले भने “काठमाडाैं जुरुक्क नउठेको भए, पेशा, व्यवसाय र पढाइलाई थाती राखेर घरघर नपुग्नुभएको भए, कतिपय अवस्थामा उम्मेदवार नै नचिने पनि घण्टिको पक्षमा कम्मर नकस्नुभएको भए सायद यो परिणाम आउन सक्ने थिएन।” उनले जनताको यही समर्पण र मेहनतले आफूलाई संसदसम्म पुर्याएको उल्लेख गर्दै सबैप्रति आभार प्रकट गरे।
उनले निर्वाचनको समयमा देखिएको जनलहरलाई लोकतन्त्रको सशक्त उदाहरणका रूपमा व्याख्या गर्दै नागरिकको भूमिकालाई निर्णायक माने। “मलाई जिताउनका लागि यहाँहरूले गरेको त्याग, समर्पण, विश्वास र मेहनतप्रति म सधैं कृतज्ञ रहनेछु” उनले भने। तर भुसालले अबको यात्रामा फरक खालको राजनीतिक संस्कार आवश्यक रहेको औंल्याए। उनले स्पष्ट भने आफूलाई जिताउन सहयोग गरेको आधारमा व्यक्तिगत लाभ, नियुक्ति वा सिफारिसको अपेक्षा नराख्न आग्रह गरे।
उनले भने “अब ‘तँलाई जिताउन कम्मर कसेर लागें, मलाई फलानो नियुक्ति चाहिन्छ’ भन्ने प्रवृत्ति अन्त्य हुनुपर्छ। ‘व्यवसाय धरापमा पारें, जागिर छाडें, पढाइ अलपत्र पारेँ—अब मलाई सेट गरिदिनुपर्छ’ भन्ने सोचले प्रणालीलाई कमजोर बनाउँछ।” यस्तै आफन्तका लागि जागिर माग्ने संस्कारले सुशासनमा बाधा पुर्याउनेतर्फ पनि उनले संकेत गरे।
भुसालले आफ्नो कार्यकाल सफल बनाउन नागरिकको सहयोग अत्यावश्यक रहेको बताउँदै भने “यदि यस्ता व्यक्तिगत अपेक्षा नराखी तपाईहरूले साथ दिनुभयो भने मेरो मात्र होइन, समग्र प्रणालीको सफलता सुनिश्चित हुन्छ।” उनले नागरिकलाई रचनात्मक दबाब, निगरानी र सहकार्यका लागि आह्वान गरेका छन् ।
यसैबीच उनले आफ्नो गृहजिल्ला अर्घाखाँचीको सन्दर्भ पनि जोड्दै अत्यन्त विनम्र अभिव्यक्ति दिएका छन्। “अर्घाखाँचीमा मभन्दा जान्ने धेरै हुनुन्थ्यो तर जनताले मलाई जिताउनुभयो। त्यसैले मलाई यो र त्यो भन्दै बोलिरहने छुट छैन” उनले भने।
उनका अनुसार अब जनप्रतिनिधिको वास्तविक परीक्षा कामबाटै हुने भएकाले आफू परिणाममुखी कार्यशैलीमा अघि बढ्नेछन्। “बोलिरहने होइन, काम गरेर देखाउने हो” भन्दै उनले विकास, सुशासन र जनअपेक्षालाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त समेत गरे।
कार्यक्रममा सहभागीहरूले पनि भुसालको भनाइले नयाँ राजनीतिक संस्कारको संकेत गरेको भन्दै समर्थन जनाएका थिए। उनीहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक हितका लागि काम गर्ने वातावरण निर्माण आवश्यक रहेको धारणा राखेका थिए ।

