शोभाखर पन्थी,अर्घाखाँची।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ अर्घाखाँचीको बिस्तारित बैठक सन्धिखर्कमा सम्पन्न भएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष बालसिंह काउछाले जनजातिका समस्या प्रति राज्य उदासिन भएको बताउनु भयो । उहाँले भूमिपुत्र जनजातिहरुले राज्यलाई अप्ठ्यारो पर्दा सधै काँध थापेको स्मरण गराउँदै उपेक्षा नगर्न सरकारको ध्यानाकर्षण समेत गराउनु भयो ।
नेकपा एमाले गुल्मिका अध्यक्ष समेत रहनु भएका नेता काउछाले संगठित र एकताबद्ध भएर काममा जुट्न कार्यकर्तालाई आग्रह गर्नु भयो ।
नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले मुलुकको राजनीतिक र सामाजिक परिवर्तनमा जनजातिहरुले अभूतपूर्व भूमिका खेलेको बताउनु भयो । उहाँले मुलुकमा राजनीतिक परिवर्तन भएपनि आर्थिक ,सामाजिक र सांस्कृतिक रुपान्तरण हुन बाँकी रहेको भन्दै त्यो नेकपा एमालेको सरकार बाट मात्र संभव हुने बताउनु भयो । अध्यक्ष भुसालले वर्तमान गठबन्धन सरकार देश र जनताको निम्ति बोझ भएको भन्दै सरकारको बिकल्प खोज्ने समय आएको बताउनु भयो ।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष गोवर्ध्दन थापाको अध्यक्षता ,उपाध्यक्ष शान्ता थापा मगरको स्वागत मन्तव्य र सचिव ठाकुर श्रेष्ठको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटीका उपसचिब शम्भु प्रसाद पोख्रेल,लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्य पवित्रा श्रेष्ठ ,महिला नेतृ शुष्मा श्रेष्ठ ,नेकपा एमाले शीतगंगा नगर कमिटीका अध्यक्ष संजय राना लगायतले मन्तव्य राख्दै बिकास र समृध्दिको निम्ति नेकपा एमालेको बिकल्प नभएको बताए ।
बैठकले संगठनको रिक्त सहसचिव पदमा खिमबहादुर मुखिया र कोषाध्यक्षमा देवी श्रेष्ठलाई मनोनयन गरेको छ । यस्तै प्रदेश अधिवेशनको निम्ति प्रतिनिधि चयन गरिएको जनाईएको छ । बैठकले यहि फाल्गुन -१९ गते सबै पालिकामा एकसाथ अधिवेशन सम्पन्न गर्ने लगायतका विभिन्न निर्णय गरेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।