अर्घाखाँची, सन्धिखर्क — प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफूलाई साथ र समर्थन गर्ने सम्पूर्ण मतदाताप्रति एमाले नेता पीताम्बर भुसालले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका छन्।
सदरमुकाम सन्धिखर्कमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भुसालले निर्वाचनका क्रममा आफू र सूर्य चिन्हमा मतदान गर्ने सबै मतदाताप्रति विशेष धन्यवाद व्यक्त गरे। जनताले देखाएको विश्वास, माया र साथ आफ्नो लागि ठूलो प्रेरणा भएको उनले बताए।
निर्वाचनको परिणाम जे जस्तो आए पनि आफू सधैं जनताको साथमै रहने प्रतिबद्धता व्यक्त गर्दै भुसालले मतदाताहरूलाई निराश नहुन आग्रह गरे। जनताको विश्वासलाई सधैं सम्मान गर्दै जिल्लाको विकास, समृद्धि र जनहितका काममा निरन्तर लागिरहने उनले स्पष्ट पारे।
भुसालले अर्घाखाँचीबाट नवनिर्वाचित रास्वपा सांसद हरि प्रसाद भुसाललाई बधाई तथा शुभकामना व्यक्त गर्दै जिल्लाको विकास निर्माणका लागि सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने बताए।
यसैगरी निर्वाचनका क्रममा विभिन्न सञ्चारमाध्यममार्फत समाचार, सूचना तथा गतिविधिहरू प्रसारण–प्रकाशन गरेर सहयोग गर्ने सम्पूर्ण मिडिया हाउस र सञ्चारकर्मीप्रति पनि उनले आभार व्यक्त गरे।
जनताको माया, विश्वास र समर्थनलाई सधैं सम्मान गर्दै आगामी दिनहरूमा पनि जनतासँगै रहेर जिल्लाको विकास र समृद्धिका लागि काम गर्ने प्रतिबद्धता दोहोर्याउँदै उनले छिट्टै जिल्लाका विभिन्न ठाउँमा पुगेर जनतासँग भेटघाट गर्ने कार्यक्रम रहेको जानकारी दिए।

