माधव खनाल- अर्घाखाँची, २९ फागुन — विद्यार्थी जीवनमा शिक्षासँगै अनुशासनको पनि उत्तिकै महत्त्व रहेको बाल शिक्षा माध्यमिक विद्यालय, भूमिकास्थान नगरपालिका–१ साम्नेगाउँका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कासीराम गमालले बताउनुभएको छ।
शुक्रबार कक्षा ९ का विद्यार्थीहरूले आयोजना गरेको कक्षा १० का विद्यार्थीहरूलाई बिदाइ तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष गमालले विद्यार्थीले राम्रो शिक्षा हासिल गर्न अनुशासन अनिवार्य हुने बताउनुभयो।
कार्यक्रममा भूमिकास्थान नगरपालिका–१ का वडा सदस्य मेघराज खनालले विद्यार्थी भाइबहिनीहरूलाई आउँदै गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) धैर्यतापूर्वक दिन आग्रह गर्नुभयो। उनले आफूले सिकेको ज्ञान निर्धक्क भएर उत्तरपुस्तिकामा प्रस्तुत गर्न सुझाव दिनुभयो।
विद्यालयका प्रधानाध्यापक युवराज खनालले पनि विद्यार्थीहरूलाई हतोत्साहित नहुन र अहिलेसम्म अध्ययन गरेका विषयहरू प्रश्नले मागेअनुसार स्पष्ट रूपमा उत्तरपुस्तिकामा लेख्न आग्रह गर्नुभयो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य तथा पूर्व प्रधानाध्यापक हिमलाल खनाल, शिक्षक कृष्ण भुसाल र शिक्षिका अस्मिता अधिकारीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
बिदाइ लिने विद्यार्थीहरूको तर्फबाट सुदन विश्वकर्मा र सुशिला घर्ती तथा बिदाइ दिने विद्यार्थीहरूको तर्फबाट मनिष खनाल र बिनिसा खनालले मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रम खिमबहादुर बैजालीको अध्यक्षता र रमिता हौजालीको सञ्चालनमा सम्पन्न भएको थियो।
यसैबीच बाल शिक्षा माध्यमिक विद्यालयले अर्घाखाँचीबाट नव–निर्वाचित प्रतिनिधिसभा सदस्य हरिप्रसाद भुसाललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सम्मान समेत गरेको छ।

