काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले पार्टीले विगतका कमजोरी स्वीकार गर्दै आत्मसमीक्षाको बाटो रोजेको बताएका छन्। अहिले अरूलाई दोष दिनेभन्दा पहिले आफूहरू सुध्रिनुपर्ने निष्कर्षमा पार्टी पुगेको उनको भनाइ छ।
शनिबार भृकुटीमण्डपमा आयोजित एकता सन्देश सभामा बोल्दै नेपालले पार्टीलाई फेरि जनतासँग जोड्ने अभियान सुरु भइसकेको जानकारी दिए। विचार र संगठन दुवैलाई सुदृढ बनाउँदै नयाँ नेपाल निर्माणतर्फ अघि बढ्नु पार्टीको मूल उद्देश्य रहेको उनले स्पष्ट पारे।
उनका अनुसार देशभर ७७ वटै जिल्लादेखि स्थानीय तहसम्म कार्यक्रम सञ्चालन भइरहेका छन्। जनताबाट टाढा बस्ने, जिम्मेवारी नबोक्ने र केवल नेताको वरिपरि घुम्ने प्रवृत्तिलाई अब स्वीकार गर्न नसकिने उनले बताए।
“हामी जनतासँग मिसिन चाहन्छौँ। ठूला कुरा गर्ने तर काम नगर्ने संस्कार तोड्नुपर्छ,” उनले भने, “नेता र कार्यकर्ता दुवै अनुशासित, जिम्मेवार र जनमुखी हुनुपर्छ।” नेपालले यो अभियान केवल संगठन विस्तारका लागि मात्र नभई पार्टीका विचार र दृष्टिकोण जनतामाझ पुर्याउने माध्यमसमेत भएको बताए। पार्टीभित्र सुधार, एकता र सक्रिय जनसम्पर्क नै आगामी दिनको मुख्य आधार हुने उनको जोड थियो।

