अर्घाखाँची — राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि हरिप्रसाद भुसाल गाउँ पुगेका छन् । उनले आफूलाई जिताएकामा पार्टी कार्यकर्ता र मतदातालाई धन्यवाद दिन भन्दै अर्घाखाँचीका ६१ वटै वडामा पुग्दैछन् । 
बुधबार छत्रदेव गाउँपालिकाको चिदिका, बल्कोट, केरुंगा, ठूलापोखरा लगायतका गाउँमा स्थानीयसँग भेटघाट गरे । चुनाव जितेर गाउँमा आएपछि स्थानीयले फूलमाला र अबिर लगाइदिएर बधाई दिएका छन् । माला, खादा र टीका लगाइदिएपछि भुसालसित तस्बिर र भिडियो खिच्नेको भीड नै लाग्ने गरेको छ । टिकटकसहित सामाजिक सञ्जालमा भुसालका समर्थकले खुसीयाली मनाएको भिडियो र तस्बिर राख्ने गरेका छन् । 
अर्घाखाँचीमा कुल १ लाख ७१ हजार ६ सय ५२ मतदातामध्ये ८६ हजार ६ सय ६८ अर्थात् ५० दशमलव ४९ प्रतिशत मत खसेको थियो । जसमध्ये भुसालले ३५ हजार २३ मत पाएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनले निकटतम् प्रतिस्पर्धी एमालेका पीताम्बर भुसाललाई १२ हजार ३ सय ७४ मतान्तरमा पराजित गरे । पीताम्बरले २२ हजार ६ सय ४९ मत पाए भने कांग्रेसका विष्णु खनालले १८ हजार ९ सय ८३ मत प्राप्त गरे । 
हरिप्रसाद ०७४ सालको चुनावमा प्रदेशसभा १ (१) बाट विवेकशील साझा पार्टीबाट उम्मेदवार बनेका थिए । ०७९ मा प्रतिनिधिसभा सदस्यमा रास्वपाबाट उम्मेदवार बने । त्यतिबेला उनले ३ हजार २ सय मत पाएका थिए । सन्धिखर्कमा मिडिया सञ्चालक, केही समय पत्रकारिता, साइनबोर्ड लेख्ने काम गर्दै आएका थिए ।
रास्वपा पार्टी कार्यकर्ता र शुभचिन्तकले अहिले खुसीयालीपूर्वक स्थानीयसँग भेटघाट गरिरहेका छन् । उनीहरूले चुनावमा बोलेका वाचा पूरा गर्न, गाउँको विकास गर्न, मतदातालाई नबिर्सन र वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा कमी ल्याएर गाउँमै रोजगारीका अवसर बढाउन सांसदसँग अपिल गरिरहेका छन् । 
उनले भेटघाटका क्रममा आफू संसद् बैठकसहित अन्य काममा काठमाडौं र अरू बेला सधैं जिल्लामै बस्ने, जनताका समस्या, गुनासा सुन्ने र विकास निर्माणका काममा बजेट ल्याउन पहल गर्ने आश्वासन दिए । भेटघाटमा अधिकांश पार्टी कार्यकर्ता र शुभचिन्तकले छत्रदेवमा पहिलो काम वन्यजन्तु नियन्त्रणमा भूमिका निर्वाह गरिदिन अपिल गरेका छन् । स्थानीयले खेतबारीमा उत्पादन गरेको अन्नबाली बाँदरले नोक्सान गरिदिएर हैरानी पारेकाले यसको नियन्त्रण वा बाँदरले नोक्सान नगर्ने अन्य वैकल्पिक खेतीबारे ध्यान दिन पनि आग्रह गरेका छन् । 
‘चुनावमा मतदातासँग गरेका वाचा बिर्सनु भएन,’ स्थानीय विमला खनालले भनिन्, ‘गाउँमा विकास, युवालाई रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्यसहित जनताको पिरमर्कामा सधैं साथ दिनुपर्छ । बाँदरले खेतबारीमा उत्पादन भएको अन्नबाली, तरकारी नोक्सानी गरेर हैरानी पारेकाले त्यसको समाधान गरिदिनुपर्छ ।’
बाँदरको नियन्त्रण वा वन्यजन्तुले नोक्सानी नगर्ने खेती गर्नेबारे किसानका समस्या नभुल्न पनि उनले आग्रह गरिन् । ‘परम्परागत दललाई त्यागेर रास्वपा र बालेन्द्र शाहप्रतिको आशा, भरोसा र विश्वास लागेर रास्वपालाई भोट दियौं,’ उनले भनिन्, ‘अब जनताले मत बदल्न जानेका छन्, काम नगरे अर्को चुनावमा फेरि अरू दल रोज्नेछन्, राम्रो काम गरेमा फेरि मत दिनेछौं । जनताको समस्यामा सांसदले साथ दिऊन् ।’
गाउँमा भेटघाटका क्रममा रास्वपाका जिल्ला अध्यक्षसमेत रहेका सांसद भुसालले जनताका सुझावलाई ग्रहण गरी काम गर्ने आश्वासन दिएका छन् । आफ्नो जन्मस्थान भूमिकास्थानबाट भेटघाट कार्यक्रम सुरु गरेका उनी अहिले छत्रदेव गाउँपालिकाका स्थानीयसँग साक्षात्कार गरिरहेका छन् ।

