नेपाल राज्य संवाददाता
दाङ– सत्तारुढ गठबन्धन दलका पाटीका प्रमुख नेताहरुले लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई भागवण्डा मिलाउने नाममा मन्त्रालय नफटाउन दबाव दिएका छन् । राप्ती उपत्यका दाङको पाखापानीमा बुधवार बसेको संयुक्त बैठकले भैरहेका मन्त्रालय कायम राखेर छिटै सरकार विस्तार गर्न सुझाव दिएका छन् ।
उनीहरुले मन्त्रालयको संख्या बढाउँदा जनतामा राम्रो सन्देश नजाने र संघीयताप्रति जनतामा वितृष्णा पैदा हुने बताएका छन् । गठबन्धनपछि बसेको कांग्रेस लुम्बिनी कार्यसम्पादन समितिको बैठकले मन्त्रालयका संख्या नथपेर यथास्थितिमा सरकार विस्तार गरी अगाडी बढ्न सुझाव दिएका छन् ।
कांग्रेस सभापति अमरसिंह पुनले मन्त्रालयको संख्या नथप्ने विषयमा कांग्रेसका सबै नेता एकमत भएको र गठबन्धन दलका प्रमुख नेताको पनि साथ रहेको बताए । बैठकमा कांग्रेसबाट पुन सहित माओवादी प्रदेश कमिटीका अध्यक्ष सुर्दशन बराल लगायत सत्तारुढ दलका प्रमुख तथा शीर्ष नेताहरु सहभागी भएका थिए ।